PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

काठमाडौं उपत्यकाभित्र छिर्न थप कडाइ : अब आरडीटी परीक्षणको रिपोर्ट देखाउनुपर्ने



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र छिर्न थप कडाइ : अब आरडीटी परीक्षणको रिपोर्ट देखाउनुपर्ने

काठमाडौं : काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरु पूर्णरुपमा सिल गर्ने निर्णय भएको छ। अब अत्यावश्यक कामले काठमाडौं छिर्नुपर्ने मानिसले पनि आरडीटी परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने छ।

जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, गृह सचिव, सुरक्षा निकायका प्रमुख, लगायतको बैठकले उपत्यका प्रवेश गर्ने सबै नाका सिल  गर्ने निर्णय भएको थियो।

गृहले पत्राचार गर्दै लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ।

अत्यावश्यक प्रयोजनबाहेकका लागि भने प्रवेश गर्न पाइने छैन। अब उपत्यकामा लुकीछिपी हुने प्रवेश समेत पूर्ण रुपमा रोकिएको गृह मन्त्रालयले जनाएको छ।

अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयम् आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्टका साथ काठमाडौँ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्न भनिएको छ।

‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य सम्भाव्य स्थलहरुलाई क्वारेन्टाइन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टाइन प्रयोजनका लागि लगत संकलन अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने,’ पत्रमा भनिएको छ।

काठमाडौँ उपत्यका प्रवेश बिन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश बिन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ ।

स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारवाही प्रक्रिया सुरु गर्नेछन् भने सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्न स्थानीय तहसँग समन्वय गर्नेछन्।

स्थानीय संघसंस्था–क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढेको छ। भिडभाडले जोखिम बढेकाले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि पत्रमा उल्लेख छ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लाखौँको संख्यामा रहेका उपत्यकामा केही व्यक्तिको आवत–जावतले अशान्त पारेको बताएका छन्। उनले उपत्यकाको नाकामा कडाई गर्ने भन्दा पनि प्रस्थान विन्दूबाटै आवत–जावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्ने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell