काठमाडौं : बिहीवार बिहानै स्वास्थ्य मन्त्रालयलले १७ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्यो। १५ जना झापामा थपिएका थिए। उनीहरु रोजगारीका लागि भारतका विभिन्न पुगेर फर्किएको खुलेको छ।
त्यस्तै, धनकुटामा पनि एक जना मानिस कोरोना संक्रमण पुष्टि भयो। उनी कहीँ कतै गएर फर्किएका थिएनन्। उनी धनकुटा जिल्लामा नै थिए। संक्रमित भएका व्यक्ति प्रहरी जवान भएको खुलेको छ। जिल्ला अस्पताल कार्यालय धनकुटामा उनी कार्यरत थिए। उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन।
'धनकुटामा एक जना जवानलाई संक्रमण भएको खुलेको छ। हामी ट्राभल हिस्ट्री हेर्दैछौं,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले भने।
नेपालमा अहिलेसम्म ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये देशभरबाट ७ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यारत एक सई र प्रहरी जवान, कपिलबस्तुमा सई र हवल्दार, बारामा एक प्रहरी जवान, धनकुटा लगायत गरेर ७ जना देखिएको डिआइजी शाहीले जानकारी दिए।
अहिले कालीमाटी वृत्तका विभिन्न प्रभाग, सेल, ट्राफिक कार्यालय गरेर ९० जना क्वारेन्टाइनमा छन्। त्यस्तै उनीहरुसँग जोडिएका अन्य १ सय जना जतिलाई क्वारेन्टाइनमा राखिएको छ। केही प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर परीक्षण समेत गराएका छन्। बाँकी क्वाराइन्टाइनमा रहेकाहरुको भने केही दिनमा नै स्वाव लिएर परीक्षण गराउने तयारी भइरहेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरीमा संक्रमण देखिन थालेपछि उच्च सतर्कतामा रहेर काम गर्न सर्कुलर जारी गरेको छ। प्रत्येक जिल्लामा सतर्कता अपनाएर काम गर्न निर्देशन दिइसकेको डिआइजी शाहीले जानकारी दिए।
'प्रहरीमा पनि संक्रमण लागे के गर्ने भन्ने पूर्व तयारी गरेका थियौं। पर्याप्त क्वारेन्टाइनको व्यवस्था गरिएको छ,' डिआइजी शाहीले भने।
प्रहरी प्रधान कार्यालय नक्सालले अहिले एक जिल्लाबाट अर्को जिल्लामा सरुवा भएका प्रहरीलाई समेत क्वारेन्टाइनमा राखेर मात्र काममा फर्काउने गरेको छ। दैनिक देशभर ३०/३५ जना प्रहरीलाई क्वारेन्टाइनमा राख्ने गरेको छ।
कालीमाटीमा धेरै सङ्ख्यामा क्वारेन्टाइनमा राखेपछि अहिले त्यहाँ महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट थप जनशक्ति पठाइएको छ।