जेठ ८ अर्थात् भलिबल दिवस। भलिबल राष्ट्रिय खेल बनेको दिन। तर, लकडाउनका कारण यसपटक यस दिवसमा कुनै औपचारिक कार्यक्रम भएन। भलिबलमात्र होइन पछिल्लो समय सबै खेलकुद प्रभावित छ। तेस्रो भलिबल दिवस मनाउँदै गर्दा नेपाली भलिबलको वर्तमान अवस्थाबारे नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मासँग मुकुन्द घिमिरेले गरेको कुराकानीको अंश :
आज भलिबल दिवस। आजको दिनमा भलिबललाई कसरी सम्झनु हुन्छ?
यसलाई राष्ट्रिय खेल बनेपछि नै शुरु गरौं। धेरै संकटमै थियौं हामी। धेरै परिश्रम गर्यौ। भलिबल राष्ट्रिय खेल बनाउन पाइयो भने सरकारको पनि दायित्व हुन्छ। पहिला राष्ट्रिय खेल बनाउनतिर लाग्ने रणनीति लियौं। अरु कुरा पछि मिलाउँदै जाउँला भन्ने थियो।
त्यतिबेला राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव केशबकुमार विष्ट हुनुहुन्थ्यो। उहाँले यसका लागि जोड गरिरहेको बताउँदै मिलिजुली लागौं भन्नु भयो। त्यतिबेला दलजित श्रीपाली मन्त्री भएर आउनु भयो। मेरो समर्थन छ भन्नुभयो। त्यतिबेला प्रचन्ड प्रधानमन्त्री हुनुहुन्थ्यो। श्रीपालीजीले प्रधानमन्त्रीसामु फाइल पेस गर्नुभयो। उहाँ पनि खुशी हुनुभयो। देशको माटो सुहाउँदो भएकाले भलिबललाई राष्ट्रिय खेल घोषणा गरियो।
त्यही दिन राष्ट्रले भलिबलका लागि यति गरेपछि हामीले पनि केही गर्नुपर्छ भन्ने भयो। र, सुरुमा म आँफै अघि सर्दै १० लाख रुपैयाँ दिएर यो फिक्स डिपोजिटमा राख्ने र यसबाट आएको ब्याजले बेस्ट प्लेयरहरुलाई बाँड्ने भनेर कोष खडा गरेँ। उत्साहका साथ अघि बढियो। गरेपछि हुँदो रहेछ। माल्दिभ्समा सेन्ट्रल जोनमा ब्रोन्ज ल्याइयो। बंगलादेशमा महिलाकोमा त स्वर्ण नै आयो। सागमा पनि प्रदर्शन राम्रो रह्यो। जितिसकेका थियौं, भाग्यले साथ दिएन। सिल्भर मेडल ल्यायौं।
यो सबै कसरी गरियो भनेर अहिले सम्झिँदा पनि जिउ झसङ्ग झसङ्ग गर्छ। खल्ती पनि धेरै रित्याइयो। त्यसपछि आएर घरघर गएर हात जोडेर स्पोन्सर पनि ल्याइयो।
राष्ट्रिय खेल बनाउनका लागि सबै जिल्लाबाट हस्ताक्षर संकलनदेखि लिएर धेरै लबिङ गरेका थियौं। कन्भिन्स गराउन सजिलो काम पटक्कै थिएन।
सन्दर्भ अहिलेको जोडौं। कोरोनाबाट भलिबल कति प्रभावित भइरहेको छ?
कोरोनाबाट त भुसुक्कै प्रभावित भइयो। हुरुरु माथि गएको प्लेनको इन्जिन खराब भएर ठ्याक्कै ग्राउन्डमा झर्न लागे जस्तो भयो। हाम्रो आफ्नै एनभीएको टुर्नामेन्ट रोकियो। ढोरपाटनको रोकियो। नयाँ बजारको रोकियो। अब बाहिर त कुरै छोड्दिनु होस्। देशै भलिबलमय बन्ने थियो।
एफआइभीबी स्वीजरल्यान्डले करोडौं रुपैयाँको म्याट पठाइसक्यो। करोडौं रुपैयाँको भलिबल पठाइसक्यो। हामीले नेपाल अधिराज्यभर वितरण गर्यौं। नेपालभर पानी नपरेको बेलामा जानुभयो भने गाउँघरतिर फुत्तफुत्त भलिबल उडिरहेको हुन्छ।
अर्को दक्षिण एसियाली खेलकुदमा चाहिँ शतप्रतिशत गोल्ड जित्नुपर्छ भनेर धैर्य गरेर नेदरल्यान्डका साथीहरुलाई कोचहरु पठाइदिनु हामी पैसा चाहिँ दिन सक्दैनौं भनेका थियौं। उनीहरुले पनि मन्जुर गरिसकेका थिए। वातावरण मिलाइसकेर बेलामा गोल हान्ने बेलामा कोरोना आइदियो।
कोभिड १९ ले खेलकुदका लागि प्रतिकूल अवस्था सिर्जना गरेको छ। यसपछि भलिबललाई अघि लैजान कस्तो योजना बनाउनु भएको छ?
हामीले हिम्मत हारेका छैनौं। पाँच पैसा सरकारले नदिँदा त हामीले आफैले खल्तीबाट पैसा निकालेर, स्पोन्सर खोजेर ल्याएर यहाँसम्म पुर्याएका छौं। जोश जाँगर हामीमा अझै जिउँदै छ। खाली परिस्थिति, वातावरण र सरकारले के भन्छ त्यो मात्र हो। राखेपले के भन्छ त्यो मान्छौं। त्यो मानेर हामीले के गर्न सक्ने हो, कर्तब्य चाहिँ छोड्दैनौं।
हामीलाई समस्या चाहिँ के छ भने कभर्डहल नभएर साह्रै दु:ख पाएका छौं। कभर्ड हलका लागि हाम्रा सदस्य सचिव रमेश सिलवालले धेरै मेहेनत गरिरहनु भएको छ। हामीलाई बुढानीलकन्ठमा लगेर बुढानिलकन्ठ स्कुलको जग्गा पनि देखाउनुभयो। अन्त पनि देखाउँछु भन्दै हुनुहुन्थ्यो। बजेटमा पनि १० करोड रुपैयाँ कभर्ड हलका लागि पार्न लगाउँछु भन्नुहुन्थ्यो। अब हेर्नुहोस् भद्रगोलले गर्दा सपना टुटे।
भलिबलबाट अझै राम्रो नतिजा ल्याउनका लागि ग्रासरुट देखि भलिबल खेलाडी उत्पादनका लागि केही ठोस योजना देखिँदैन नि?
अत्यन्तै ठीक कुरा गर्नु भयो। म चिन्तित छु। किन चिन्तित छु भने राम कार्कीको अध्यक्षतामा स्कुल भलिबल कमिसन भनेर खोलेका छौं। एकपटक उहाँहरुले गर्नुभयो, ढोरपाटनमा। यू १४ को प्रोडक्ट ल्याउने मुख्य माध्यम हो। त्यसपछि आएर कमिसन सेलायो। उहाँहरुको पनि केही कठीनाइ होला। उहाँहरुले नसक्ने भए हामी अर्को टिम खडा गरेर अघि बढ्छौं। कुरेर कसैलाई पनि बस्दैनौं। एक पटक त गराउनु भयो। त्यसपछि गराउन सक्नुभएको छैन। त्यसलाई चाहिँ फेरि एकपटक तताउनु छ। जगाउनुछ। उहाँहरुले सक्ने भए सक्ने, नसक्ने भए अर्को टिम खडा गरेर युवा खेलाडीहरुलाई ल्याउने योजना छ।
नेपाली पुरुष टिममा विशेषगरी प्रशिक्षकको समस्या छ। छोटो समयका लागि मात्र प्रशिक्षक ल्याइएकाले सागमा नतिजा सोचेअनुकुल आएन भन्छन् नि?
(हाँस्दै) तपाईंहरुको मनमा त्यस्तो लागेको हो। केटीहरुको पालामा चाहिँ बैङ्ककमा महिनौं दिन राख्ने, केटाहरुलाई चाहिँ नराख्ने भन्ने भएको हो। केटाहरुलाई पनि भारत त पठाएका थियौं।
त्यो समय परिस्थितिले के भयो भने ठ्याक्कै सेन्ट्रल जोन केटीहरुले जितेर आउनु अनि साग त सुरु हुने बेला भयो। त्यतिबेला केटामा भन्दा केटीमा साग जित्ने सम्भावना देखियो। केटाहरु सक्दैनन् भन्ने देखियो। केटीहरुले सक्छन्। किनभने गोल्डमेडल उता जितेका छन्। जुन हतियार धारिलो छ त्यसैले त हान्ने हो। र, सिल्भर मेडल पनि ल्याए।
यसको मतलब केटाहरुलाई चाहिँ हामीले नहेरेको, उनीहरुले सक्दैनन् भनेर अवहेलना गरेको होइन। एकदम क्यापेबल छन् उनीहरु। ६ साढे ६ फुटे जल्दाबल्दा केटाहरु छन्। विदेशी तीन छक खान्छन्। हङकङमा गएर हङकङलाई नै हराए। मकाउमा गएर मकाउलाई नै हराए। यहाँ विदेशीहरु आउँदा उनीहरुलाई जित्यौं। म एकसेएक खेलाडीहरुलाई आदर गर्छु। उनीहरु प्रोटेक्सनको मलाई साह्रै चिन्ता छ। तर, पैसोको अभावले गर्दा उनीहरुलाई उचित स्थानमा लगेर तीन महिना प्रशिक्षण गराउने धोको थियो त्यो चाहिँ पूरा हुन सकेको छैन। अब भविष्यमा चाहिँ होला।
भलिबल दिवस आज। खेलाडीका लागि केही सन्देश छ?
प्यारा भलिबल खेलाडी भाइ तथा बहिनीहरु। उहाँहरुको हातमा आज देशको इज्जत थामिएको छ। गाँसिएको छ। किनभने विदेशमा गएर जितेको बेला नेपाली झन्डा फररर फहराउँदाको आनन्द तपाईंसँग करोडौं/अरबौं रुपैयाँ हुँदा पनि मिल्दैन। यो राष्ट्रका लागि ठूलो कुरा हो। आज देखिहाल्नु भयो भारतले बोर्डर मिच्दा खेरी हामी रातभरि निन्द्रा लाग्दैन। कहिले गएर आँफै त्यहाँ गएर घर बनाएर बसौं कि भन्ने जस्तो लाग्छ। राष्ट्रप्रेमी मान्छेलाई राष्ट्र चिनाउने माध्यम यही खेलकुद छ। अरुले सक्दैन। यस्तो अवस्थामा हाम्रा भाइ बहिनीका हातमा राष्ट्रको इज्जत राख्ने जोगाउने कुरा छ। हामी यसै त गरिब मुलुक। हाम्रा बच्चाहरुले डाइट नै राम्रो पाउँदैन। त्यसको बाबजुद पनि हिमालको चिसो पानी खाएर हेर्नुहोस् त शरीरमा तागत! मकाउमा त तीनछक खाएका थिए। त्यहाँको चाइनिज प्रशिक्षकले ‘यु पिपोल आर भेरी स्ट्रङ’ भन्दै थियो। क्षमता छ हाम्रा भाइबहिनीमा। त्यो शक्तिको सदुपयोग गर्नैपर्छ। त्यो दिन आउँछ। धैर्य गर्नुपर्छ भन्न चाहन्छु।