PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सर्पले आक्रमण गर्न खोज्दा भत्काउनुपर्‍यो बेकबहादुरको घर, आखिर पोखरामा किन देखिए लकडाउनमा थुप्रै सर्प?



सर्पले आक्रमण गर्न खोज्दा भत्काउनुपर्‍यो बेकबहादुरको घर, आखिर पोखरामा किन देखिए लकडाउनमा थुप्रै सर्प?

• राजु आचार्य -

बेकबहादुर तामाङ ३ दिनसम्म छिमेकी आफन्तकोमा बास बसे। बास बस्नुको कारण पहिला बताएनन्। केही दिन अघि  पोखरा-१८ , लामा गाउँ क्षेत्रमा एक तले पुरानो घरभित्र सर्प छिरेको रहेछ। यो बेकबहादुरको घर थियो। उनी डराए। आफैले धपाउन खोजे। उनले सर्प घरबाट लखेट्ने क्रममा सर्पले आक्रमण गरेको थियो। उनी झन् त्रसित बने।

लामो समय बाहिर बस्न सम्भव नभएपछि उद्धारकर्मीहरूलाई खबर गरियो। सर्प कुन प्वालमा थियो पत्ता लगाउन गाह्रो भयो। उनी कति सम्म त्रसित थिए भने, आफ्नो घरै भत्काएर सर्प निकाल्न राजी भए। स्थानीय युवाहरूको सहयोगमा घरको भान्छा तिरको पुरै पाटा भत्काइयो। यतीखेर बेकबहादुरको नोक्सानी भयो।

मानिस र सर्पबीचको द्वन्द्व सामान्य प्राय मानिन्छ। यस्ता  द्वन्दहरूमा धेरै जसो सर्पहरुनै मारिन्छन्। मानिसको ज्यानै  जान सक्ने गरी नोक्सानी पनि हुन सक्छ। विश्व स्वास्थ्य सङ्गठनका  अनुसार वर्षभरि विश्वभर  कम्तीमा ८१ हजार  मानिसहरूले सर्पको टोकाई (सर्पदंश) बाट ज्यान गुमाउँछन्। स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा पनि वार्षिक करिब १००० मानिसले सर्पदंशको कारणले ज्यान गुमाउँछन्। तर अहिले पोखरामा अवस्था परिवर्तन भएको छ। आजभोलि सर्प मारिने क्रम भने घट्दो छ।

सर्प उद्धारका लागि भत्काँउदै बेकबहादुर तामाङको घर।

यस वर्ष पोखरामा गत वर्षभन्दा दोब्बर बढीले सर्पहरू उद्धार भएका छन्। गत वर्ष  ९ प्रजातिका ३२ वटा  सर्पहरूको उद्धार गरिएको थियो। सोही अवधिमा यस वर्ष ९ प्रजातिका ६७ वटा सर्पहरू उद्धार गरिएको छ। यो दुवै उद्धारहरु चैत्र ११ गते देखि  जेष्ठ १ गतेको अवधिमा गरिएका  हुन्। यो लकडाउन  सुरु भएदेखि हाल सम्मको अवधि पनि हो। यो उद्धार रोहित गिरी, रोशन गिरी र ऋषि बरालले पोखरा आसपास गरेका हुन्। उनीहरूले गरेका सबै उद्धारका फोटो र भिडियो हुने भएकोले यो तथ्याङ्क विश्वसनीय पनि छ। यो तथ्याङ्कहरू  ‘सर्प संरक्षण समाज नेपाल ’ ले अधावधिक गर्ने गर्दछ।

‘लकडाउनले सर्प बढेको हो र? पोहर भन्दा उद्धार गरिएको सङ्ख्या त बढ्यो नि’  यो प्रश्न हामीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका सूचना अधिकारी एवं संरक्षण अधिकृत ऋषि बराललाई राख्यौँ। तर उनी  लकडाउनको कारणले त्यसो नभएको बताउँछन्। उनी भन्छन् ‘मानिसहरू सचेत छन्। फोन गर्ने बित्तिकै सर्प उद्धार गर्ने मानिसहरू आइपुग्छन् भन्ने सन्देश पुगेको छ। फोन नम्बर सामाजिक सञ्जालमा उपलब्ध गराइएको छ। सोही कारणले पनि मानिसहरूले सर्प उद्धार गर्न बोलाउने गर्छन्। फेरी आज भोलि जोसँग पनि मोबाइल छ,  खिचेर सामाजिक सञ्जालमा राखी हाल्छन्। यसले गर्दा बढी जस्तो देखिएको हो।’

भुटानमा सर्पबारेमा पढ्दै गरेका चितवनका सुनिल सापकोटा पनि बरालसँग सहमत छन्। उनी भन्छन्, ‘मानिसले अहिले आफ्नो घर वरिपरि बढी समय बिताउने गरेको छ, सोही कारणले बढी जम्का भेट भएको हुन् सक्छ।’ सर्पका अध्येता सापकोटाले भने जस्तै भारतमा पनि यस्ता घट्नाहरु बढेका छन्।

भारतको केरेला राज्यको कन्नुर जिल्लामा पनि लकडाउनको बेलामा धेरै सर्पहरूको उद्धार भयो। केरेलाका  वन्यजन्तु वैज्ञानिक रोशनाथ रमेश भन्छन् ‘ सर्पको सङ्ख्या बढेको होइन । हामीहरू घर बसेका छौँ। अरू हेर्ने कुराहरू छैनन्। वरिपरि राम्रो सँग  हेरेको  कारणले गर्दा धेरै देखिएको मात्र हो।’ उनले थपे ‘शान्त वातावरण भएपछि बाहिर बढी निस्केका हुन् सक्छन्।’

‘लकडाउन र पोखरामा बढेको सर्पको केही सम्बन्ध छ र? सर्प त निकै उद्धार भए त यसपाली।’ कि गाडीहरू कम चलेको र मान्छेको आवतजावत कम भएर धरै सर्पहरू बाहिर निस्केका हुन्?’  भन्ने प्रश्न हामीले  प्राध्यापक एवं वरिष्ठ वन्यजन्तु विज्ञ करनबहादुर शाहलाई राख्यौँ।

शाह भन्छन् ‘त्यस्तो होइन। अनुसन्धान बिना यस्ता कुराहरूमा ठोकुवा गर्न मिल्दैन। शान्त भन्दा पनि झन् कम्पन्नले सर्पहरू बाहिर निस्कने कुरा त भूकम्प जानुअघि निस्किएका सर्पले प्रमाणित नै गर्‍यो। गाडी कम चल्नु र मानिसको क्रियाकलापसँग खासै सम्बन्ध छ जस्तो लाग्दैन।’ उनी थप्छन्,  ‘यसपाली पानी  छिटो पर्‍यो । सर्पलाई चाहिने उपयुक्त वातावरण  पहिला नै  तयार भयो । अर्को कुरा, मानिस घरमा धेरै सीमित छ। उसले घर वरपर सर्पलाई देख्ने सम्भावना धेरै रहन्छ। त्यसमाथि सर्वसाधारणले उद्धार हुन्छ भन्ने थाहा पाए पछि फोन गर्ने भएl त्यही भएर यो सङ्ख्या बढी भएको हो।‘

लकडाउनको अवधिमा अमेरिकाका विभिन्न राज्यमा मुसा बढी देखिएको बताइएको छ। नेपालमा भने यसबारे कुनै जानकारी बाहिर आएको छैन। मुसा सर्पको आहारा भएकोले सर्प बढी देखिएको हो कि भन्ने विषयमा  अनुसन्धान बिना भन्न सकिँदैन। तर पोखरामा गत वर्ष १२ वटा मात्र उद्धार गरिएको धामन सर्प यसपाली ३१ वटा भेटिए। यो सर्पले मुसा मन पराउँछ। फेरि यो सर्पलाई खाने अर्को राज गोमन सर्प पनि यो वर्ष ३ वटा भेटिएका छन्। जुन गत वर्ष पोखराबाट उद्धार भएको थिएन। तर जे भए पनि पोखरामा सर्पको सङ्ख्यामा ब्रिधि भएको वा नभएको भन्ने सम्बन्धमा लामो अध्ययन आवश्यक पर्नेछ। हामीले उद्धार मात्र भएको सङ्ख्यालाई हेर्ने हो भने सर्पको सङ्ख्यामा दोब्बर बढीले  वृद्धि भएको देखिन्छ।

सम्बन्धित समाचार

सर्प देख्‍ने बित्तिकै सातो जाने किन? सर्पका १६ रमाइला तथ्य

‘लुरे’सँगै सर्पको उद्धार यात्रा : हेर्नुस् प्रकृति पूजकको एउटा प्रेरणादायी प्रयास

लकडाउनमा जोखिम मोल्दै पोखरेली सर्प संरक्षणकर्मी! के पाउँछन् र उद्धार गर्छन् यिनले?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell