PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

दक्षिण एसियामा कोरोनाको संक्रमण दर उच्च : पछिल्लो १० दिनमा दैनिक औसत आठ हजार जनामा संक्रमण



विधुर ढकाल

दक्षिण एसियामा कोरोनाको संक्रमण दर उच्च : पछिल्लो १० दिनमा दैनिक औसत आठ हजार जनामा संक्रमण

काठमाडौं : विश्वभर कोभिड-१९ संक्रमितको संख्या पचास लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या ५० लाख ११ हजार चार सय ६७ पुगेको छ। तथ्यांक अनुसार मृत्यु हुनेको संख्या तीन लाख २८ हजार तीन सय ६८ पुगेको छ।

दक्षिण एसियामा कोरोना भाइरसको संक्रमणको ग्राफ पनि उकालो लागिरहेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकहरुमा पछिल्लो १० दिनमा करिब ८० हजार संक्रमित पुष्टि भएका छन्।
गत मे ११ मा संक्रमितको संख्या एक लाख १९ हजार १०० रहेकोमा यो समाचार तयार पार्दासम्म दक्षिण एसियाका ८ देशमा संक्रमितहरुको संख्या एक लाख ९८ हजार छ सय २६ पुगेको छ। यो संख्या १० दिन अगाडि भन्दा ७९ हजार पाँच सय २६ ले बढी हो। यस हिसाबले हेर्दा संक्रमितको संख्या औषतमा दैनिक सात हजार ९०० ले बढिरहेको छ।

 

दक्षिण एसियामा पछिल्लो १६ दिनमा संक्रमितको संख्या एक लाखले बढेको हो। मे ४ मा ८१ हजार सात सय ९६ जनामा कोरोना भाइरस पुष्टि भएको थियो।

पहिलोपटक जनवरी २७ मा संक्रमण पुष्टि भएको दक्षिण एसियामा अप्रिल १६ सम्म आइपुग्दा संक्रमितको संख्या २३ हजार एक सय १६ थियो। त्यसको १२ दिन पछि अप्रिल २८ सम्म आइपुग्दा यो संख्या दोब्बरले बढ्दै ५१ हजार ८ सय ५५ पुग्यो। अर्को एक सातामा यो संख्या ८१ हजार सात सय ९६ पुगेको थियो।

त्यस्तै यस क्षेत्रमा पछिल्लो १० दिनमा मृत्यु हुनेको संख्या ६५ प्रतिशतले बढेको छ। हालसम्म दक्षिण एसियामा मृत्यु हुनेको संख्या पाँच हजार ४४ पुगेको छ। १० दिन अगाडि ११ मे मा यो संख्या तीन हजार दुई सय ३९ थियो भने त्यसको साता अगाडि मे ४ सम्म दुई हजार तीन सय २३ थियो। अप्रिल २८ सम्म दक्षिण एसियामा मृत्यु हुनेको संख्या एक हजार चार सय ४७ मात्र थियो।

दक्षिण एसियामा सबै भन्दा बढी संक्रमण भारतमा भएको छ। भारत विश्वमा सबै भन्दा बढी संक्रमित मुलुकहरुको सूचीमा ११ औं नम्बरमा छ।

तथ्यांक अनुसार भारतमा एक लाख १२ हजार चार सय ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ। जुन १० दिन अगाडि भन्दा ६७ प्रतिशतले बढी हो।

 

मे ११ मा त्यहाँ संक्रमितको संख्या ६७ हजार दुई सय ५९ थियो। १० दिनमा यो संख्या ४५ हजार एक सय ८३ ले उकालो लाग्दै एक लाख १२ हजार चार सय ४२ पुगेको हो। जुन मे ४ मा ४६ हजार चार सय ३७ थियो। त्यसको एक साता अगाडि अप्रिल २८ सम्म संक्रमित २९ हजार चार सय ५१ थियो।

 

त्यस्तै कोभिड-१९ को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या पछिल्लो १० दिनमा ५५ प्रतिशतले बृद्धि हुँदै तीन हजार चार सय ३८ पुगेको छ। 

मे ११ सम्म भारतमा दुई हजार दुई सय १२ जनाको मृत्यु भएको थियो। मे ४ सम्म एक हजार पाँच सय ६६ थियो। 

फेब्रुअरी २६ मा एकैपटक दुई केस देखिएको पाकिस्तानमा संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ। जुन मे ११ मा ३० हजार ९ सय ४१ थियो। मार्च ३१ सम्म पाकिस्तानमा संक्रमितको संख्या एक हजार ९ सय मात्र थियो। त्यसको एक महिनापछि यो संख्या बढेर १४ हजार पुग्यो। जुन मे चारसम्म आइपुग्दा २० हजार ९४१ पुग्यो।

पाकिस्तानमा मृत्यु हुनेको संख्या एक हजार १७ पुगेको छ। जुन १० दिन अगाडि छ सय ६७ थियो भने मे चारमा यो संख्या चार ७६ मात्र थियो।

बंगलादेशमा मार्च ८ मा पहिलोपटक तीन केस देखिएको बंगलादेशमा हालसम्म आइपुग्दा संक्रमितको संख्या २६ हजार सात सय ३८ पुगेको छ। जुन ४५ प्रतिशतले बढेको छ पछिल्लो १० दिनमा।

यहाँ १० दिन अगाडि मे ११ सम्म संक्रमितको संख्या १४ हजार छ सय ५७ थियो। यहाँ कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या तीन सय ८६ पुगिसकेको छ।

अफगानिस्तानमा संक्रमितको संख्या आठ हजार छ सय ७६ पुगेको छ। यो समाचार तयार पार्दासम्म यहाँ मृत्यु हुनेको संख्या एक सय ९३ छ। मे ११ मा अफगानस्तानमा संक्रमितको संख्या चार हजार चार सय २ थियो भने मृत्यु हुनेको संख्या एक सय २० थियो।

पछिल्लो १० दिनमा मालदिभ्समा संक्रमितको संख्या तीन सय ५१ ले बढ्दै एक हजार एक सय ८६ पुगेको छ। यहाँ मे ११ मा संक्रमितको संख्या आठ सय ३५ थियो। यस १० दिनमा मालदिभ्समा संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन्। यहाँ मृत्यु हुनेको संख्या चार पुगेको छ।

जनवरी २७ मा पहिलो केस देखिएको श्रीलंकामा हालसम्म ९ जनाको मृत्यु भएको छ। यो १० दिनमा श्रीलंकमा थप २ जनाको मृत्यु भएको छ।

संक्रमितको संख्या श्रीलंकामा एक हजार २८ पुगेको छ। १० दिन अगाडि यो संख्या आठ सय ६३ थियो। 

पछिल्लो १९ दिनमा नेपालमा संक्रमितको संख्या २३१ प्रतिशतले बढेको छ। नेपालमा यो समाचार तयार पार्दासम्म चार सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। जुन मे ११ सम्म एक सय ३४ थियो। नेपालमा यही अवधीमा तीन जनाको मृत्यु भइसकेको छ। 
मे ४ मा नेपालमा संक्रमित हुनेको संख्या ८२ थियो। 

पछिल्लो १० दिनमा भुटानमा १२ जनामा संक्रमण पुष्टि भएको छ। भुटानमा मे ११ सम्म ९ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मार्च ६ मा पहिलो केस दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell