PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘स्वास्थ्य मन्त्रालयमा जागिर लगाई दिन्छु’ भन्दै ठगी गर्ने एक जना प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

‘स्वास्थ्य मन्त्रालयमा जागिर लगाई दिन्छु’ भन्दै ठगी गर्ने एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : ‘स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाई दिन्छु’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ३ बालाजु बस्ने ४५ वर्षीय राजकुमार चापागाईं रहेका छन्।

उनले आफू सशस्त्र प्रहरी नायब उपरीक्षक भएको दावी गर्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको महानगरीय अपराध महाशाखा टेकुका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। पेशाले चापागाईं जग्गा कारोबारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

चापागाईंले स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिस्ट, सहायक लेखापाल जस्ता महत्वपूर्ण पदमा जागिर लगाई दिन्छु भनी प्रलोभन देखाएर ठगी गरेको प्रहरीले जनाएको छ। उनले विभिन्न व्यक्तिहरुबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

उनले २०७२ असार २४ गते निलिमा महर्जन र आकृति डंगोलसँग प्रतिव्यक्ति २ लाखको दरले ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ बर्ष कैद भुक्तान गरेको अनुसन्धानबाट खुल्न आएको छ। उनले यसअभि पनि आफूलाई विभिन्न उच्चपदस्थ अधिकारीहरुको पीए भनी कारागार तथा सीडीओ कार्यालयहरुमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको खुल्न आएको छ।

त्यसको साथै आफूलाई ‘प्रहरीको उच्च अधिकृत हुँ’ भनी विभिन्न व्यक्तिहरुलाई धम्क्याउने, आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने तथा विभिन्न व्यक्तिहरुसँग सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनी रकम ठग्ने गरेको प्रहरीले जनाएको छ। उनले खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेसँग जागिर लगाई दिन्छु भनी पटकपटक गरी दुई लाख रुपैयाँ लिएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।

महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई काठमाडौंको पेप्सीकोलाबाट एक महिलासँग एक लाख २० हजार रुपैयाँ लिँदै गर्दा पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले उनको फोटो टाँसिएको राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायब उपरीक्षकको नक्कली परिचय पत्र एक थान, खरिदार पदको नक्कली परिचय पत्र एक थान, बा ९० प ९५५५ नम्बरको कालो रङको स्कुटर एक थान, मोबाइल एक थान, सिमकार्ड तीन थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटो १० थान र एक लाख २० हजार नगद बरामद गरेको छ। उनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell