PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

लागतभन्दा दोब्बर बढी खर्चः भुक्तानी पहिले २० महिनापछि काम, अनियमिततामा संलग्न जनाविरुद्ध भ्रष्टाचार मुद्दा



पहिलोपोस्ट

लागतभन्दा दोब्बर बढी खर्चः भुक्तानी पहिले २० महिनापछि काम, अनियमिततामा संलग्न जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँः म्याग्दीको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अन्तर्गतको दाना आयुर्वेद औषधालयको कम्पाउन्ड वाल निर्माणमा लागतभन्दा दोब्बर रकम भुक्तानी गरिएको पाइएको छ। दोब्बर रकम भुक्तानीमात्र हैन रकम निकास भएको २० महिनापछि मात्र काम गरेको पनि तथ्य भेटिएको छ। निर्माण प्रक्रियामा अनियमितता गरी राज्यलाई हानी नोक्सानी पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा समेत दायर गरेको छ। 

सदरमुकाम बेनीबाट करिब तीन घण्टा टाढा रहेको उक्त निर्माण कार्यको अनुगमन समेत नगरी भुक्तानी दिएको अख्तियारको दाबी छ। अख्तियारले उक्त कार्यमा संलग्न भएको भन्दै आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालसमेत चार जनालाई मुद्दा दायर गरेको हो। 

अख्तियारले भुसाललाई एक लाख ४५ हजार ९२८ रुपैयाँ बिगो कायम गरेको छ। बिगो अनुसार जरिवाना पनि माग गरिएको छ।

यस्तै, अख्तियारले सोही प्रकरणमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङका तत्कालीन डिभिजन प्रमुख तेजेन्द्र शर्मा पौडेल र तत्कालीन इन्जिनियर सुदीप खड्काले फिल्डमा नपुगी निरीक्षण प्रतिवेदन पारेको भन्दै मुद्दामा विपक्षी बनाएको छ। तोकिएको जिम्मेवारी पूरा नगरी झुटा प्रतिवेदन बनाएको भन्दै पौडेल र खड्कालाई पनि जनही एक लाख ४५ हजार ९२८ रुपैयाँ नै बिगो कायम गरेको छ।

अख्तियारले निर्माण कम्पनीका अख्तियारप्राप्त रघुनाथ शर्मालाई पनि पनि समान बिगोसहित मुद्दा दायर गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell