PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

माथिल्लो तामाकोशी असारसम्म तयार हुने, ठाडो सुरुङमा ६४ मिटर मात्रै पाइप जडान बाँकी



पहिलोपोस्ट

माथिल्लो तामाकोशी असारसम्म तयार हुने, ठाडो सुरुङमा ६४ मिटर मात्रै पाइप जडान बाँकी

काठमाडौँः लकडाउनमा पनि निर्माण कार्य जारी रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ६४ मिटरमात्रै पेनस्टक पाइप जडान गर्न बाँकी छ।

आयोजनाको सबैभन्दा जटिल कार्य मानिएको ठाडो सुरुङमा सफलतापूर्वक पेनस्टक पाइप जडानको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

‘३७२ मिटर लम्बाइको तल्लो ठाडो सुरुङमा सबै पेनस्टक पाइप जडान गरि सकिएको छ,’ आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भने, ‘३१० मिटर लम्बाईको माथिल्लो ठाडो सुरुङमा पनि अब ६४ मिटरमात्रै पेनस्टक पाइप जडानको काम बाँकी छ। असार पहिलो हप्तासम्म यो पनि सक्ने लक्ष्य छ।‘

३७२ मिटर लामो तल्लो ठाडो सुरुङमा पाइप राख्ने जिम्मा अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले पाएको थियो। उसले निर्धारित समयमै आफ्नो भागको काम सकेको हो। ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने जिम्मा भने भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो। सुरुवाती दिनमा धेरै सुस्त गतिमा काम गरिरहेको टेक्सम्याकोले पछिल्लो समय कामको गति केही बढाएको थियो।

सुरुवातमा एन्ड्रिजले टर्बाइन र ट्रान्सफर्मर लगायतका विद्युतीय उपकरण जडान गर्ने इलेक्ट्रो मेकानिकल कामको मात्रै ठेक्का पाएको थियो। उसले आफ्नो ठेक्कामा परेको सबै काम निर्धारित समयमै सकेको थियो।

सबै सुरुङमा पेनस्टक पाइप जडानको ठेक्का भने भारतीय कम्पनी टेक्सम्याकोलाई दिइएको थियो। भारतीय कम्पनीले सन्तोषजनक काम गर्न नसकेपछि आयोजनाले त्रिपक्षीय सम्झौता गर्दै तल्लो ठाडो सुरुङमा पाइप राख्ने जिम्मा अष्ट्रियन कम्पनीलाई दिएको थियो। त्यसपछि आयोजनाको कामले गति लिएको थियो।

वेल्डिङका लागि आर्गन ग्यास अभाव
लकडाउनमा पनि धमाधम काम भइरहेको तामाकोशीमा वेल्डिङ गर्न आर्गन ग्यास अभाव भएको प्रवक्ता न्यौपानेले बताए। नेपालमा धेरै ठाउँमा सोधखोज गर्दा पनि ग्यास नपाइएकोले पाइप वेल्डिङमा केही ढिलाई हुन्छ कि भन्ने चिन्ता थपिएको छ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीका अधिकांश सबै काम लगभग सकिएका छन्। आयोजनाको जलाशयमा पानी भरेर परीक्षणसमेत गरिसकिएको छ। तेस्रो मुख्य सुरुङमा १०० मिटर पाइप जडान गर्न बाँकी छ। तर ठाडो सुरुङको तुलनामा तेस्रो सुरुङमा पाइप जडान कार्य निकै सहज हुने भएकाले उक्त सुरुङमा पाइप जडान गर्न धेरै समय नलाग्ने आयोजनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell