PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

काठमाडौं पस्दा कोरोना रिपोर्ट देखाउनुपर्ने नियमप्रति पूर्वमन्त्री इस्तियाक, 'नेता, मन्त्री बस्ने ठाउँमा मात्रै जाँच गर्ने?'



कुञ्जरमणि भट्टराई

काठमाडौं पस्दा कोरोना रिपोर्ट देखाउनुपर्ने नियमप्रति पूर्वमन्त्री इस्तियाक, 'नेता, मन्त्री बस्ने ठाउँमा मात्रै जाँच गर्ने?'
फाइल फोटो

काठमाडौं : नेपालमा  कुल ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा बाँके जिल्लाले भने शतक पार गरेको छ। बिहीवार साँझसम्म बाँकेमा संक्रमितको संख्या एक सय एक पुगेको छ।

सरकार र स्थानीय तहको कमजोरीका कारण कोरोना संक्रमण फैलिएको पूर्वमन्त्री तथा बाँके २ का सांसद मोहम्मद इस्तियाक राई दाबी गर्छन्।

लकडाउनपछि भित्रिएका संक्रमितलाई सरकारले क्वारेन्टाइनमा राख्न नसकेकाले कोरोना संक्रमण फैलिएको उनले आरोप लगाए।

'लकडाउन सुरु भएपछि आठ सय जनालाई बिना तयारी भित्र्याइयो। कतिपय क्वारेन्टाइनबाट भागे। केहीको खोजी गरेर क्वारेन्टाइन राखियो। नेपालगन्ज नगरपालिकाले नै क्वारेन्टाइनमा राखेन,' जनता समाजवादी पार्टीका नेतासमेत रहेका उनले भने।

क्वारेन्टाइनबाट किन भाग्छन्?

१५/१५ दिन लगाएर हिँडेर छिमेकी मुलुक भारतको पञ्जाब, गुजरात, मुम्बईबाट आएकाहरुलाई जाँच गरेर क्वारेन्टाइनमा राख्न नसकिएकाले पनि क्वारेन्टाइमै कोरोना फैलिएको उनले बताए। क्यारेन्टाइनको अवस्था दयनीय भएकाले पनि त्यहाँबाट मानिसहरु भागेको उनको दाबी रह्यो।

भने, 'क्वारेन्टाइन अव्यवस्थित छ। कुहिएको खाद्यान्नसमेत बाँडिएको पाइयो। जीवनजलसमेत नपाएर एक जनाले ज्यान समेत गुमाए।'

इस्तियाकले हाल पनि जनप्रतिनिधिको दबावका कारण भारतबाट आएकाहरुलाई बिना परीक्षण भित्रयाइएकाले झनै खतरा बढेको बताए।

भने, 'खसी, बोका जसरी गाडीमा कोचेर ल्याएकाहरुलाई हिजो रातिमात्रै पनि बिना जाँच नेपाल प्रवेश गराइएको छ। बाँके,प्युठान, दाङलगायत जिल्लाका झन्डै ३ हजारलाई नेपालगन्ज नाकाबाट राति प्रवेश गराइएको छ। यसले झनै खतरा बढाएको छ।'

शुल्क तिरेर किन परीक्षण?

कोरोना परीक्षणको दायरा नबढाएको र व्यक्तिले नै शुल्क तिरेर परीक्षण गर्नसक्ने कुराप्रति असन्तुष्टि प्रकट गरे उनले।

राईले व्यक्तिले पैसा तिरेर कोरोना जाँच गर्ने कुरा गलत रहेको तर्क गरे। राज्यले नै नागरिकको कोरोना परीक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले स्थानीय तह र सरकार नीजि क्षेत्रलाई जिम्मेवारी दिँदै त्यहाँबाट कमाउने धन्दामा लागेको आरोप पनि लगाए।

बाहिरबाट मानिस भित्र्याइए पनि टेस्ट गरेरमात्र‌ ल्याउनुपर्ने उनको भनाइ छ।

'विश्व स्वास्थ्य संगठनले अस्वीकार गरेको आरडीटी गरियो। बाहिरबाट आउने मानिसहरुलाई ल्याउनुपर्छ तर पिसिआर परीक्षण गरेर मात्र,' उनले भने।

कोरोना संक्रमितको हितमा स्थानीय सरकारले ध्यान पुर्‍याउन नसकेको उनले आरोप लगाए।

कोरोना नियन्त्रणमा तीनै तहको सरकार चुकेको उनको भनाइ छ। नीति तथा कार्यक्रममा पनि कोरोनालाई प्राथमिकता नदिएको भन्दै इस्तियाकले असन्तुष्टि व्यक्त गरे।

बजेटमा ध्यान नदिए स्थिति भयावह

सरकारले बजेटमा ध्यान नदिने हो भने स्थिति भयावह हुने उनले बताए।

भन्छन्, 'सरकारले कोरोनाको क्षेत्रमा बजेट डाइभर्ट गरेन भने स्थिति भयावह हुने देखिन्छ। नीति तथा कार्यक्रममा त देखिएन। क्वारेन्टाइनको हाल दयनीय छ, आइसुलेसनको कमि छ, भेन्टिलेटर पनि कम छ।'

त्यस्तै कोरोनाले भन्दा पनि भोकमरीले मानिसको मृत्यु हुने खतरा देखिन थालेको बताए।

'कोरोनाले भन्दा पनि मानिसहरु भोकबाट मर्ने देखिन्छ। ज्यालादारी गरेर जीवन चलाउने मात्रै होइन मध्यमवर्गीय परिवारलाई पनि भोकमरी समस्या हुने देखियो। त्यसैले सरकारले राहत प्याकेज ल्याउनुपर्छ', उनले भने।

काठमाडौंमात्र नेपालजस्तो

उनले सांसद, मन्त्रीहरुको कोरोना परीक्षण भइरहेको र जनताको अवस्थाप्रति सरकारले ध्यान नपुर्याएकोमा आक्रोश पोखे।

उपत्यकाको नाका सिल गरेर, उपत्यकामा मात्रै परीक्षण गरेर नेपाल भनेको काठमाडौं मात्रै हो भन्ने व्यवहार गरेको उनको आरोप छ।

भन्छन्, 'नेता, मन्त्री बस्ने ठाउँमा मात्रै जाँच गर्ने, काठमाडौं छिर्दा रिपोर्ट देखाएर छिर्नुपर्ने। अनि बाहिरी जिल्लामै चाहिँ गाडीका गाडी मान्छे ल्याएर बिना परीक्षण पठाउने? काठमाडौंमात्र सुरक्षित भए हुन्छ? अन्त जेसुकै होस् जस्तो व्यवहार भयो। काठमाडौं मात्रै नेपाल हो अरुचाहिं होइन जस्तो  भनेर बुझ्दा हुने भयो,' उनले आक्रोश पोखे।

जिल्लाको समस्याबारे स्वास्थ्यमन्त्री, शिक्षा मन्त्रीलाई जानकारी गराउँदा कुनै सुनुवाइ नभएको इस्तियाकको गुनासो थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell