PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

खेल गतिविधि पुन: संचालन गर्ने योजना बनाउँदै राखेप, दर्शकबिहीन फुटबल लिग कति सम्भव?



पहिलोपोस्ट

खेल गतिविधि पुन: संचालन गर्ने योजना बनाउँदै राखेप, दर्शकबिहीन फुटबल लिग कति सम्भव?

काठमाडौं : कोरोना भाइरसको कहर चलिरहँदा राष्ट्रिय खेलकुद परिषदले खेल गतिविधि पुन: संचालन गर्ने योजना बनाउन सुरु गरेको छ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको एक कार्यक्रममा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले भाइरसको अवस्था र खेलाडीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै खेल गतिविधि पुन: संचालन गर्ने योजना बनाउन थालेको बताएका हुन्।

सिलवालले आगामी दिनहरुमा लिगलाई चाँडो संचालन गर्नुपर्ने अवस्था रहेको बताउँदै लकडाउनको टुंगो नभएकाले कसरी खेललाई अघि बढाउने भन्ने योजनामा आफूहरु रहेको बताए।

खेल क्षेत्रलाई पुन: 'नर्मल' बनाउँदै लैजानु पर्ने भन्दै उनले भने, ‘व्यक्तिगत खेलहरुका पहल पनि सुरु गरिसकेको छौं। यद्यपि मुर्त रुप लिन सकिरहेको छैन। कम्तिमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुबाट शुरु गर्ने सके खेलकुद चलयमान हुन्छ। जिल्लामा पनि जहाँ कोरोनाबाट समस्या छैन या ग्रीन जोन छ त्यहाँबाट अघि बढ्न सके खेल चलयमान हुन्छ भन्ने हो।’

त्यस्तै उनले फुटबलमा रोकिएका बी डिभिजन र सी डिभिजनका खेलहरु पनि बन्द रंगशालामा संचालन गराउने विकल्पमा सोच्न सकिने बताए।

‘ए डिभिजन लिग सकिएको छ। बी डिभिजन लिग स्थगित भयो। सी डिभिजन लिग सुरु हुनै सकेको छैन,’ सिलवालले भने, ‘एन्फासँग पनि छलफल भइरहेको छ। विदेशमा जस्तो सबैको स्वास्थ्य परीक्षण गरेर खाली मैदानमै प्रतियोगिता गर्न सकिन्छ। अलिअलि सकारात्मक स्थिति पनि देखा परिसकेको थियो। फेरि कोरोनाले तर्साउने स्थिति आयो। यद्यपि, यसै भन्न सकिने स्थिति छैन।’

त्यस्तै शहीद स्मारक ए डिभिजन लिगमा दर्शकहरुको कम उपस्थितितर्फ इङकित गर्दै उनले एन्फालाई धेरै दर्शक आउने वातावरण बनाउनेमा जोड दिन सल्लाह दिए। त्यसका लागि होम एन्ड अवे गेम नहुनुले असर गरिरहेको बताए।

‘हामीले मात्र फुटबल विकास गरेका छैनौं। प्रतिस्पर्धिले पनि विकास गरिरहेका छन्,’ उनले भने, ‘अब सन् २०२५ मा ३० मा कहाँ पुग्ने भनेर योजना बनाउनु पर्छ। यसका लागि ग्रासरुटबाटै फुटबलको विकास गर्नुपर्ने देखिएको छ।’

खेलकुदको विकासका लागि आफूहरुले योजना बनाए पनि लकडाउनले भताभुङ्ग पारिदिएको उनले भनाइ छ।

यता दक्षिण एसियामै पहिलो पटक लिग पछि टेक्निकल रिपोर्ट बनाएको भन्दै मख्ख रहेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालामा क्वारेन्टाइन बनाउने योजना सुनेर झस्किएको प्रतिक्रिया दिए।

उनले अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन आफुहरुले धेरै मेहेनत गरेको बताउँदै मैदानमा क्वारेन्टाइन बनाउँदा अहिलेसम्मको मेहेनत खेर जाने बताए।

‘मैदानमा चाहिँ क्वारेन्टाइन नराख्दा राम्रो हुन्छ। बरु यसका लागि विकल्प स्थान खोज्न एन्फाले पनि मद्दत गर्छ,’ उनले भने।

त्यस्तै एन्फा अध्यक्ष शेर्पाले बी डिभिजन सी डिभिजन, महिला लिग र राष्ट्रिय लिग बाँकी रहेकाले बन्द रंगशालामै भएपनि आयोजना गर्नसके क्यालेन्डर नबिग्रिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell