PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कोरोना संक्रमणको हटस्पट प्रदेश ५ : अधिकांश संक्रमितको कनेक्सन भारत, पहिलो संक्रमण देखिएको तीन सातामा नाघ्यो दुई सय



विधुर ढकाल

कोरोना संक्रमणको हटस्पट प्रदेश ५ : अधिकांश संक्रमितको कनेक्सन भारत, पहिलो संक्रमण देखिएको तीन सातामा नाघ्यो दुई सय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार कोरोना संक्रमित देशभर हालसम्म पाँच सय सात पुगेको छ। कुल संक्रमितमध्ये करिब ४५ प्रतिशत बढी संक्रमण प्रदेश ५ मा मात्र छन्।

प्रदेश ५ मा स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार हालसम्म दुई सय २५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

 

वैशाख १९ गते पहिलोपटक रुपन्देहीका २५ वर्षे युवक र बाँकेका ६० वर्षे पुरुषमा संक्रमण पुष्टि भएको थियो।

त्यसको दुई दिनपछि वैशाख २१ गते बाँकेमा एकै पटक १५ जनामा संक्रमण पुष्टि भयो। भारतको भ्रमण गरी आएका बाँकेका पहिलो संक्रमितको ट्रेसिङबाट ती संक्रमित पुष्टि भएका हुन्।

 

यसको दुई दिनपछि पुन: ७ जनामा संक्रमण पुष्टि भयो। पहिलो संक्रमण पुष्टि भएपछिको तीन सातामा यहाँ दुई सय ११ पुग्दा सबैभन्दा बढी जेठ ५ गते एकैपटक ६१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै वैशाख २९ र ३१ गते २३/२३ जनामा संक्रमण पुष्टि भयो।

जेठ ७ गते पनि यहाँ २० जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै वैशाख ३० गते १७ र जेठ २ गते ११ जना गरी दोहोरो अंकमा संक्रमण पुष्टि भएको थियो। 

आज बिहानमात्र कपिलबस्तुमा ९ र नवलपरासी बर्दघाट सूस्ता पश्चिममा तीन जनामा संक्रमण पुष्टि भएको थियो। भने पछिल्लो अपडेटअनुसार बाँकेमा थप १४ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमित हुनेको संख्या २, २५ पुगेको हो।  

पछिल्लो एक सातामै सय बढीमा संक्रमण

पहिलो संक्रमण पुष्टि भएको दुई सातामा प्रदेश ५ मा संक्रमितको संख्या एक सय नाघेको थियो। संक्रमण पुष्टि भएको १० दिनमा ५० नाघेको संक्रमितको संख्या त्यसको चार दिनमा जेठ २ गते बढेर १०५ पुगेको थियो।

त्यसपछिको एक सातामा संक्रमितको संख्या पुन एक सयभन्दा बढीले बढ्दै २,२५ पुगेको हो।

भारतसँग सीमा जोडिएको प्रदेश ५ का १२ जिल्लामध्ये सात जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ६ जिल्ला भारतसँग सीमा जोडिएका जिल्ला हुन्। गुल्मीमात्र पहाडी जिल्ला हो। गुल्मीका एक जनामा रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भयो। उनको ८ गते उपचारकै क्रममा मृत्यु भएको हो।

यो प्रदेशको दोस्रो तथा देशकै कोरोना भाइरसका कारण भएको तेस्रो मृत्यु हो। यसअघि जेठ ४ गते बाँके जिल्लाका एक युवाको क्वारेन्टाइनमा नै मृत्यु भएको थियो।

यहाँ देखिएका अधिकांश संक्रमितहरुको कनेक्सन भारतसँग जोडिएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell