PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बैतडीका संक्रमित चैत ६ गते मुम्बईबाट आएका थिए, प्रहरी हिरासतबाट आइसोलेसनमा लैजाने तयारी



कमलराज भट्ट

बैतडीका संक्रमित चैत ६ गते मुम्बईबाट आएका थिए, प्रहरी हिरासतबाट आइसोलेसनमा लैजाने तयारी

काठमाडौं: कोरोना भाइरसको संक्रमण पुष्टि भएका बैतडीका २२ वर्षीय पुरुष प्रहरीको हिरासतमा रहेका थुनुवा भएको खुलेको छ। उनी ज्यान मुद्दामा २२ दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए। उनी चैत ६ गते  भारतको मुम्बईबाट आएका थिए।

सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले संक्रमित व्यक्ति थुनुवा भएको जानकारी दिए। ‘ज्यान मुद्दामा हिरासतमा रहेका व्यक्ति हुन्। २०/२२ दिनदेखि हिरासतमा छन्। मुद्दा अहिलेकै हो,’ उनले भने।

उनका अनुसार थुनुवामा संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल गरिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले संक्रमण देखिएका शिवनाथ गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय पुरुषलाई अस्पताल लैजाने तयारी भइरहेको बताए।

उनीसहित हिरासतमा रहेका ४ जनाको जेठ ६ गते स्वाब संकलन गरेर धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएकोमा आज रिपोर्ट आउँदा उनमा पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए। ‘अबको तयारी भनेको तिनको कन्ट्याक्टमा रहेका व्यक्तिको ट्रेसिङ गर्ने र स्वाब संकलन गर्ने काममा जुटेका छौं,’ उनले भने।

संक्रमितमा कुनै लक्षण भने देखिएको छैन। संक्रमित अहिले पनि हिरासतमै छन्। ‘उनलाई अस्पतालको आइसोलेसन वा कुनै सुरक्षित ठाउँ खोजेर सिफ्ट गर्ने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालयमा आपतकालिन बैठक बस्दैछ,’ उनले भने।

संक्रमितसहित ४ जनालाई हिरासतबाट जिल्ला अस्पताल ल्याएर स्वाब संकलन गरिएको थियो। ‘उहाँहरु चारै जना चुनामा सँगसँगै बसेको हुनुहुन्थ्यो। संक्रमित चैत ६ गते भारतको मुम्बई सहरबाट आएका थिए,’ स्वास्थ्य प्रमुख भट्टले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell