
काठमाडौं : सम्पर्कविहीन भएका भनिएका डडेल्धुराका कोराना भाइरस संक्रमित युवा सम्पर्कमा आएका छन्। उनी डडेल्धुराको सरकारी कार्यालयमा कार्यरत कर्मचारी भएको खुलेको छ।
उनी परशुराम नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुन्। गत बैशाख १४ गते उनी घर गई २७ गते फर्किएर २८ गते कार्यालयमा हाजिर भएको देखिएको छ। २८ गतेदेखि जेठ ५ गतेसम्म उनले कार्यालयमा काम गरेको खुलेको छ। उनी योजनाको सम्झौता तथा अन्य काममा पनि सहभागी थिए।
गत मंगलवार (जेठ ६ गते) ज्वरो आएपछि उनी डडेल्धुरा अस्पताल गएर जाँच गराएका थिए। अस्पतालले जाँचका क्रममा उनमा स्क्रब टाइफस देखिएको जानकारी बताएको थियो। अस्पतालले सोही अनुरुपमा स्क्रब टाइफसको औषधि पनि सिफारिस गरेको थियो। उनी सो दिन औषधि लिएर कार्यालयको निवासमा फर्किएका थिए।
तर, कोरोनाको आशंकामा सोही दिन अस्पतालले उनको थ्रोट स्वाब पनि संकलन गरेको थियो। उनको हिस्ट्री हेर्दा उनी शुक्रवारसम्म कार्यालय भित्र रहेर काम गरेको देखिएको छ। शुक्रवार उनको कोरोना परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको हो।
आफूलाई कोरोना भएको होला भन्ने नसोचेका उनी हालसम्म पनि कार्यालयको निवासमा बसेका थिए। हालसम्म पनि उनले आफूलाई कोरोना पोजेटिभ भएको विश्वास नगरी काठमाडौंमा पीसीआर परीक्षण गर्नुपर्ने माग राखेका छन्। हाल उनी डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा रहेको बताइएको छ।