PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चार वर्षपछि जेलमुक्त भए पनि पुरानै फर्ममा यी नटवरलाल...



सविन ढकाल

चार वर्षपछि जेलमुक्त भए पनि पुरानै फर्ममा यी नटवरलाल...

काठमाडौं : विगत दुई महिनादेखि अधिकांश टेलिभिजन तथा सञ्चार माध्यममा एउटै नाम धेरैपटक दोहरिएको छ। झन् दिउँसो ४ बजे त उनकै आवाजको प्रतीक्षामा धेरै बसेका हुन्छ। उनी अर्थात् डाक्टर विकास देवकोटा। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता।

कोरोना सङ्क्रमणको सङ्ख्या थपिए नथपिएको आधिकारिक पुष्टि गर्ने उनी नै हुन्। उनले दिने तथ्याङ्क सबैभन्दा आधिकारिक हुने गर्छ। धादिङ घर भएकी मीनालाई पनि त्यस्तै लागेको थियो। तर, वास्तविकतामा त्यस्तो भएन।

केही दिनअघि मीनालाई उनै मन्त्रालयका प्रवक्ता विकास देवकोटाको हस्ताक्षर भएको मन्त्रालयको कार्ड हात पर्‍यो। त्यो कार्ड लकडाउनको समयमा घरबाहिर निस्कन जारी गरेको पास थिएन। थियो त मन्त्रालयमा खरिदारको पोस्टमा जागिर। तर, मीनाले देवकोटाको हस्ताक्षरलाई पनि पत्याइन्। तर कार्ड देखेपछि उनलाई शङ्का लाग्यो।

+++

नेपालमा लकडाउन सुरु हुनुभन्दा करिब दुई महिना अघिमात्रै मीना कतारबाट नेपाल फर्किएकी हुन्। पढेलेखेकी मीनालाई अब वैदेशिक रोजगारीभन्दा नेपालमा नै केही गर्ने चाहना पलाएको थियो। चीनको वुहानमा कोरोना सङ्क्रमण देखिन थालेको थियो, उनी फर्किँदा।

यसको प्रभाव पनि नेपालमा देखियो। सरकारले १० गते लकडाउन घोषणा गर्‍यो। धेरै मानिस बेरोजगार भए। मीना भने यही अवसरमा जागिरको मेसो मिलाउँदै थिइन्। जागिर पनि स्वास्थ्य मन्त्रालयमा। जागिरको व्यवस्था मिलाएका थिए, काठमाडौँ तारकेश्वर नगरपालिका वडा नम्बर ३ बालाजु बस्ने ४५ वर्षीय राजकुमार चापागाईँले।

मीना र राजकुमारको चिनजान धेरै पुरानो थिएन। एक वकिल मार्फत् राजकुमार मीनासँग ठोक्किएका थिए। राजकुमारले स्वास्थ्य मन्त्रालयमा जागिर मिलाउने दिने दाबी गरेका थिए। त्यसका लागि केही लाख रुपैयाँ खर्च गर्नुपर्ने बताएका थिए। मीना लगानी गर्न तयार थिइन्।

+++

मीनाको हातमा पुगेको कार्ड तिनै राजकुमारले थमाएका थिए। तर, कार्ड हात परेपछि भने उनमा शङ्का पलायो। कतै ठगिएको त होइन? मीनालाई लाग्यो। त्यसैले महानगरीय अपराध महाशाखाको टोल फ्री नम्बरमा फोन गरेर जानकारी दिइन्। प्रहरीले उनको हुलिया थाहा पाउनासाथ पहिचान गरिहाल्यो - ती नटरवरलाललाई।

मीनालाई जागिर लगाएबापतको बाँकी रकम राजकुमारले लिन बाँकी नै थियो।

मीनाले १ लाख २० हजार रुपैयाँ लिनका लागि राजकुमारलाई पेप्सिकोलामा बोलाइन्। पैसा लिन राजकुमार पनि पुगे। तर, मीना एक्लै त्यहाँ पुगेकी थिइनन्। उनीसँगै सादा पोसाकमा महाशाखाका प्रहरी समेत पुगेका थिए। प्रहरीले राजकुमारलाई पक्राउ गरे। पक्राउ परेका व्यक्ति प्रहरीको रेकर्डमा दरिइसकेका नटवरलाल नै थिए।

+++

अभियुक्त चापागाईँले स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सन, सहायक लेखापालजस्ता पदमा जागिर लगाउने प्रलोभन देखाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ।

उनले २०७२ असार २४ गते निलिमा महर्जन र आकृति डङ्गोलसँग प्रतिव्यक्ति २ लाखका दरले ठगी गरेको कसुरमा नख्खु कारागारमा ४ वर्ष कैद भुक्तान गरिसकेको अनुसन्धानबाट खुल्न आएको छ। उनी गत साउनमा कैदमुक्त भएका थिए।

'पहिले देखिको नटरवलाल हो। त्यसपछि पनि ठगी धन्दामा नै लागेको भेटियो,' महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने।

पक्राउ परेका राजकुमारले यसअघि पनि विभिन्न उच्चपदस्थ अधिकारीहरूको निजी सहायक हुँ भन्दै सिडिओ कार्यालयहरूमा फोन गर्थे र कैदीहरूलाई रिहा गराउन समेत सफल भएका थिए। त्यसका साथै आफूलाई ‘प्रहरीको उच्च अधिकृत हुँ’ भन्दै धम्क्याउने, आर्मी स्कुलमा बच्चा भर्ना गराइदिने प्रलोभनमा ठग्ने गर्दै आएको भेटिएको छ।

'ठगीका लागि कस्तो स्वरूप आवश्यक पर्छ त्यस्तै भएर ठगी गर्ने गरेको देखियो,' एसएसपी थापाले भने।

सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनेर ६० हजार लिएको समेत खुलेको छ अभियुक्तले। उनको साथबाट प्रहरीले उनको फोटो टाँसिएको रामबहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचयपत्र समेत फेला पारेको छ। राजकुमारले विभिन्न व्यक्तिलाई तर्साउन प्रहरीको नक्कली कार्ड समेत बनाएको खुलेको हो।

अहिलेसम्म तीन जनाले उनीविरुद्ध ठगीको उजुरी दिएका छन्। उजुरी अझै बढ्न सक्ने प्रहरी अनुमान छ। 'कतिलाई थाहा नभएको पनि हुनसक्छ। उजुरी बढ्ने अनुमान गरेका छौँ,' एसएसपी थापाले भने।

यसरी ठगी गरेको रकम उनले विलासी जीवन बिताउन नै खर्च गरेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell