PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

समुदायमा संक्रमणको खतरा : प्रश्न सरकारको तयारीमा



सहयोग रञ्जित

समुदायमा संक्रमणको खतरा : प्रश्न सरकारको तयारीमा

काठमाडौं : विश्व नै अहिले कोभिड-१९ सँग भिडिरहेको छ। भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा छन्। नागरिक थुनिएका छन्। कोरोना भाइरसको संक्रमण भने फैलिरहेको छ।

सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको यो भाइरसले विश्वका प्राय: मुलुक संक्रमित भएका छन्। नेपालमा यो भाइरसको संक्रमणको पहिलो केस देखिएको दुई महिनापछिमात्र दोस्रो केस देखियो। तर, ती दुई महिनामा दक्षिण एसियाली अन्य राष्ट्रहरुमा भने संक्रमण ह्वात्तै फैलिसकेको थियो। अरु देशमा संक्रमण फैलिरहँदा नेपालमा भने कोरोना मुक्त राष्ट्र बनाउने नारा समेत सुनियो किनभने पहिलो संक्रमित ठीक भइसकेका थिए।

माघमा देखिएको पहिलो कोभिड १९ पोजिटिभ केसलाई हल्का रुपमा लिएको सरकारले दुई चैतमा दोस्रो केस देखेलगतै ‍लकडाउन गरेको थियो।

चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा कोरोना संक्रमितको एक मात्रै एक्टिभ केस थियो। लकडाउनको दुई महिना पछि अर्थात् जेठ १० सम्म संक्रमितको संख्या २ बाट बढेर ५ सय ४८ पुगेको छ।

नेपालमा संक्रमितको ग्राफ हेर्ने हो भने वैशाख अन्तिम साता संक्रमितको संख्या एक सय नाघेको थियो। त्यसको दुई सातामा संक्रमितको संख्या ५ सय नाघ्यो।

कोभिड-१९ पोजेटिभ केसहरु बढ्दै गर्दा समुदायस्तरमा नै कोरोना भाइरसको संक्रमण फैलिएको आशंकाहरु गरिएका छ। यद्यपि, सरकारले भने समुदायस्तरमा संक्रमण फैलिनसकेको बताउँदै आएको छ।

जनस्वास्थ्य विज्ञहरु भने कोरोनाले समुदायस्तरमा नै प्रभाव पारिसकेको हुनसक्ने तर्क गर्दै सतर्क हुनुपर्ने बताउँछन्।

एक विज्ञले भने, 'तराईका जिल्लामा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको हुनसक्छ। सरकारले परीक्षण पनि बढाएको छ। तर, जति परीक्षण हुनुपर्ने हो, त्यति हुन सकेको छैन।'

तराईका सबै जिल्लामा संक्रमण फैलिरहँदा सीमा क्षेत्रबाट स्वदेश फर्किरहेका नेपालीहरुका कारण संक्रमणको त्रास बढ्दै गएको छ।

त्यसो त हाल काठमाडौं उपत्यकामा पनि कोरोनाका नयाँ संक्रमितहरु देखिएका छन्। काठमाडौंमा ५ वटा'एक्टिभ केस'संक्रमण मुक्त भएर 'जिरो केस'मा पुगिसकेको थियो। तर, फेरि उपत्यकामा एकाएक संक्रमण बढेको हो।

अधिकांश संक्रमितहरु लकडाउनको समयमा बाहिरी जिल्लाबाट उपत्यका भित्रिएका हुन्। सरकारले संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा आइसोलेट गरेर कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको काम अघि बढाइरहेको जनाएको छ। यद्यपि, भाइरसको संक्रमण फैलिनुको कारण भने पत्ता लगाउन सकिएको छैन।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकी पहिलो व्यक्तिलाई कहाँबाट संक्रमण भयो?

धेरैले उनलाई अस्पतालमा नै संक्रमण भएको हुनसक्ने आशंका समेत गरेका छन्। उनलाई काठमाडौंबाट नै संक्रमण फैलियो कि सिन्धुपाल्चोकमा? अनुसन्धान भइरहेको छ। तर, उपलब्धी भने हासिल हुनसकेको छैन।

यस्तै, भक्तपुरमा देखिएका नयाँ दुई संक्रमितहरुले पनि उपत्यकामा कोरोना संक्रमण फैलिनुको कारणलाई झनै ओझेलमा पारेको छ।

केही दिन अघि काठमाडौं महानगरपालिकामा कार्यरत भक्तपुरका बासिन्दा र शनिवारमात्रै पुष्टि भएका नयाँ संक्रमति उपत्यकाबाट बाहिर नगएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। भक्तपुरमा नै रहेका सशस्त्रका एक जवानमा देखिएको संक्रमणको ट्रेसिङबाट पनि भाइरसको स्रोत पत्ता लगाउन सकिएको छैन।

'यी त प्रतिनिधि घटना हुन्। काठमाडौंमा कसरी संक्रमण फैलिरहेको छ भनेर अनुसन्धान हुँदैछ। नयाँ देखिएका संक्रमितहरु बाहिर नगएको भए पनि उनीहरु बाहिरबाट आएका मानिसहरुको सम्पर्कमा रहेको हुनसक्छन्। यसको अर्थ उपत्यकमामा समुदायमा नै संक्रमण देखियो भन्ने चाहिँ होइन, 'एक चिकित्सकले भने।

+++

परीक्षणको कुरा गर्ने हो भने हालसम्म ४२ हजार ५ सय ५८ जनाको पीसीआरबाट परीक्षण गरिएको हो। संक्रमण फैलिँदै गर्दा पीसीआरबाट भएको यो परीक्षणको संख्या निकै कम भएको सरोकारवालाहरुले बताउँदै आएका छन्।

आरडीटीबाट ८२ हजारभन्दा बढीको परीक्षण भए पनि यसबाट आउने नतिजालाई विश्वासिलो मान्न नसकिने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन्।

पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने अधिकांश संक्रमित भारतबाट आएका छन्, त्यो पनि लकडाउनको बीचमा।

लकडाउनबीच संक्रमण बढ्नु र सीमा क्षेत्रमा सयौंको संख्यामा मानिसहरु नेपाल भित्रनुले समुदायमा संक्रमण फैलिने खतरा झनै बढ्ने देखिन्छ। काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढिरहेको अवस्थामा नाकाहरुबाट सयौं संख्यामा मानिसहरु भित्रिरहेका छन्।

सीमामा हजारौं नेपाली स्वदेश फर्कने तरखरमा छन्। कयौं त लुकेर आइसके। जुन १ मा भारत सरकारले थप दुई सय रेल संचालनमा ल्याउँदैछ। त्यसबाट पनि नेपाली सीमामा हजारौं नेपाली पुग्ने अनुमान गरिएको छ।

यो त खुल्ला सीमाको कुरा भयो। अन्य देशमा रहेका नेपालीहरुले समेत स्वदेश फर्कने चाहनामा छन्। त्यहाँका सरकारले नेपालीलाई फर्काउन दबाब दिइरहेका छन्।

संक्रमित देशबाट नै लाखौंको संख्यामा नेपाल आएको खण्डमा उनीहरुलाई व्यवस्थापन गर्ने तयारी सरकारसँग छैन। उनीहरु सबैलाई ल्याएर राख्ने स्रोत र साधन नेपालसँग हाल छैन पनि।

तर, स्रोत छैन भन्दैमा तयारी नभएको भने होइन। यदि बाहिरबाट नेपालीहरुलाई ल्याएको खण्डमा कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा स्वास्थ्य मन्त्रालय छलफलमै छ। होटल लजहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने बारेमा छलफल भइरहेको छ। तर, यो त काठमाडौं ओर्लन केही संख्याका लागि उपयक्त होला। सीमाबाट बिना कुनै परीक्षण भित्रिनेहरुका लागि के त?

'कुनै न कुनै दिन धेरै संख्यामा मानिसहरु काठमाडौं भित्रिने नै छन्। सीमा नाघेर नेपाल आउने नै छन्। अब पहिला किन गरेन भनेर बस्नु भन्दा आगामी दिनको तयारी गर्नुपर्छ,' एक विज्ञले भने, 'सबैलाई क्वारेन्टाइन बनाएर राख्न सकिन्न। जति सकिन्छ त्यति क्वारेन्टाइन बनाउनुपर्छ। एउटा क्वारेन्टाइनमा सयौंलाई राख्नुभन्दा होम क्वारेन्टाइनको अवधारणामा अब हामी जानुपर्छ। नत्र मानिसको चाप थेग्न सकिन्न। सबैलाई एकैसाथ राख्दा संक्रमण फैलिन डर नि हुन्छ।'

सीमा क्षेत्रबाट मानिसहरु आइरहेकाले परीक्षणको दायरा थप बढाउनुपर्ने भन्दै अनावश्यक रुपमा गरिँदै आएका पीसीआर परीक्षण बन्द गरिनुपर्ने उनले बताए।

'अहिले त पीसीआर किटको मौज्दात होला। तर, धेरै समुदायस्तरमा नै परीक्षण गर्नुपर्‍यो भने त्यो अपुग हुन सक्छ। अहिले जहाँ परीक्षण हुनुपर्ने हो त्यहाँ भएको किट पुगेको छैन। यता भने फेसबुकमा फोटो राख्ने काम भइरहेको छ। त्यसैले हामी आफैँ अब सतर्क हुनुपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell