
सुर्खेत : कर्णाली प्रदेशमा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। शुक्रवार प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ आएपछि शुक्रवार बेलुका नै स्वाबको नमुना नेपालगञ्ज पठाइएको थियो।
नेपालगञ्ज गरिएको परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएपछि अव कर्णाली प्रदेशमा संक्रमितको संख्या चार पुगेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ। संक्रमित तिनै जना भारतबाट बिहीवारमात्रै कर्णाली प्रदेश प्रवेश गरेका हुन्।
भारतबाट आएका झण्डै १७ सय नागरिक मध्ये बबईमा गरिएको आरडीटी परीक्षणमा १५ जनाको पोजेटिभ देखिएपछि प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गरिएको थियो।
'तीनै जनाको रिपोर्ट पोजेटिभ आइसकेको छ,’ प्रदेश अस्पतालका सुपरिटेण्डेन्ट डा. डम्बर खड्काले भने, ‘लक्षण, सिम्टम त्यस्तो केही छैन। हिजोदेखि नै आइसोलेसनमा राखिसकिएको छ। उनीहरु सुर्खेत बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना हुन्।