PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बाराका एक कोरोना संक्रमितकी पत्नीको रिपोर्ट पोजेटिभ, छोराछोरीको नेगेटिभ



राधेश्याम पटेल

बाराका एक कोरोना संक्रमितकी पत्नीको रिपोर्ट पोजेटिभ, छोराछोरीको नेगेटिभ
फोटो : कलैया अस्पताल

वीरगंज : बाराको कलैयास्थित एक रेडियोमा मार्केटिङ अफिसरको रुपमा कार्यरत कोरोना संक्रमितकी ३७ वर्षीया श्रीमतीमा पनि कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार विहान जारी गरेको विज्ञप्ति अनुुसार बाराको करैयामाई गाउँपालिका निवासी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि उनलाई कलैया अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य कार्यालय बाराका कोरोना विभाग प्रमुख शंकर गुप्ताले बताए। उनका अनुसार उक्त दम्पतीका २ छोरा र २ छोरी गरी ४ सन्तानको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।

त्यसैगरी, शुक्रवार राति मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बाराको सिम्रौनगढ नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरुषहरु छन्।

८ दिन पहिले भारतको मुम्बई, दिल्ली, नोयडा, ईलाहाबाद, गुजरातलगायत ठाउँबाट आएर घोडासहन नाका हुदै नेपाल प्रवेश गरेपछि उनीहरुलाई सिम्रौनगढ बजारस्थित कंकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय बाराका गुप्ता बताउँछन्। शुक्रवार राति पुष्टि भएका ६ जनालाई पनि कलैया अस्पतालको आइसोलेसन वार्डमा पठाइएको छ।

हालसम्म १५ बेड क्षमताको कलैया अस्पतालमा १० जना संक्रमितहरु उपचाररत रहेका छन् भने यसअघिका ३ जना संक्रमितहरु नारायणी अस्पतालमा उपचाररत छन्। शनिवार २ जना डिस्चार्ज भएका छन्।

५० बेड क्षमताको आइसोलेसन बन्दै

स्वास्थ्य कार्यालय बाराले प्रदेश २ को सामाजिक विकास मन्त्रालयको निर्देशन अनुसार कलैयाको गंगापुरमा रहेको शैक्षिक तालिम केन्द्रमा ५० बेडको आइसोलेसन वार्ड बनाइदै छ।

बाराका कोरोना प्रमुख शंकर गुप्ताका अनुसार ४/५ दिनमै उक्त वार्डबाट पनि उपचार शुरु हुनेछ।

‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी मिलेर आइसोलेसन वार्डको तयारीमा जुट्नु भएको छ, चाँडै ५० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउने छ, ’ उनले भने ।

२५० जनाको रिपोर्ट आउन बाँकी, ६ सय जना क्वारेन्टाइनमा

बाराका क्वारेन्टाइनमा बसेका र संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएका गरी २५० जनाको रिपोर्ट आउन बाँकी रहेको छ। शुक्रवार साँझसम्म वीरगंज, हेटौँडा र काठमाडौं पठाइएका सबै नमुनामध्ये २५० जनाको रिपोर्ट नआएको र बाँकी सबैको नतिजा आइसकेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ।

बाराका १६ स्थानीय तहको १६ वटा क्वारेन्टाइनमा भारतका विभिन्न राज्य तथा नेपाल अन्य जिल्लाबाट आएका गरी कुल ६ सय जना रहेका छन्। जसमा २४ जना पुरुष छन्।

भारतीय सीमावर्ती पालिका सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकामा मात्रै ३ सय जना रहेको बताइएको छ। त्यसैगरी ५ सय जनाको हाराहारीमा होम क्वारेन्टाइनमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell