काठमाडौं : राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पारित गर्दै घरभित्रै बसेर ईद-उल-फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदमा नमाज पढ्न आग्रह गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिवार आयोजित नियमित पत्रकार सम्मेलनमा सहभागी भएर अध्यक्ष अन्सारीले सामूहिकरुपमा नमाज पढ्दा कोरोना संक्रमण हुने जोखिम बढी भएकाले घरमै बस्न आग्रह गरेका हुन्।
रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईद-उल-फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन मुस्लिम समुदायमा रहेको छ। रमजानको शुरुका दिनमा पनि आयोगले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढ्न अनुरोध गरेको थियो।
सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भए पनि घरमै बसेर नमाज पढ्न उनले आग्रह मात्रै गरेनन् विपद्को समयमा सरकारको अनुरोधलाई पूर्णरुपमा पालना गर्नसमेत ध्यानाकर्षण गराए।
उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदानप्रदान नगर्न अनुरोध गर्दै देशको कुनै पनि ठाउँबाट शनिवार चन्द्रमा देखिए आइतवार ईद-उल-फित्र मनाउने नभए सोमवार मात्रै ईद-उल-फित्रको नमाज आदा गरिने जानकारी दिए।
इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार वर्त अर्थात् रोजा (उपवास) बसेर नमाज पढछन्। रमजानको अन्तिम दिन ईद-उल-फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने विश्वास छ। आइतवार रमजान महिनाको अन्तिम (३० औँ) दिन हो।