वीरगंज : प्रदेश नम्बर २ को सर्लाहीमा शनिवारदेखि ३० बेड क्षमताको आइसोलेसन वार्डसहितको कोभिड-१९ विशेष अस्पताल सञ्चालनमा आएको छ।
दिन प्रतिदिन जिल्लामा कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहँदा जिल्लास्थित विपद् व्यवस्थापन केन्द्रको पहलमा मलगंवाको संत अल्पमाई रामनारायण राय नर्सिङ कलेजमा कोभिड-१९ अस्पताल बनाई उपचार सेवा शुरु गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराए।
‘शनिवार सर्लाहीमा भेटिएका १३ संक्रमितहरुलाई मलगंवामै राखिएको छ, थप कोभिड-१९ अस्पतालको लागि छलफल भइरहेको छ। ५० बेडको अर्को ठाउँमा पनि आइसोलेसन वार्ड बनाउने तयारी छ,’ उनले भने।
स्वास्थ्य मन्त्रालयले शनिवार बिहान जारी गरेको विज्ञप्ति अनुसार गोडैता नगरपालिकामा १२ र कबिलासी नगरपालिकामा १ गरी १३ जना नयाँ संक्रमित पुष्टि भएका छन्। शुक्रवार सर्लाहीको गोडैता नगरपालिकामा १४ र रामनगर बहुअर्वा गाउँपालिकामा १ गरी १५ जनामा कोरोना पुष्टि भएको थियो।
हालसम्म सर्लाहीमा ३३ जनामा संक्रमण पुष्टि भएको छ। २८ जना संक्रमित दुई दिनमै भेटिएका छन्। सर्लाहीका ३३ मध्ये २ जना काठमाडौंमा र ३१ जनाको प्रदेश २ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सर्लाहीका केही संक्रमित जनकपुर र वीरगंजमा उपचाररत छन्।
सर्लाहीमा भेटिएका नयाँ संक्रमितहरु सबै भारतबाट मेजरगंज, सोनवर्षा हुँदै गोडैटा प्रवेश गरेका हुन्। उनीहरु सम्बन्धित पालिका अन्तर्गतको विद्यालयमा बनाइएको क्वारेन्टाइनमा छन्।