PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सातै प्रदेशमा फैलिँदो कोरोना संक्रमणः हटस्पट प्रदेश ५, गति लिँदै कर्णाली



सहयोग रञ्जित

सातै प्रदेशमा फैलिँदो कोरोना संक्रमणः हटस्पट प्रदेश ५, गति लिँदै कर्णाली

काठमाडौं: माघ ९ गते वाग्मती प्रदेशमा कोभिड १९ (कोरोना भाइरस) को पहिलो केस देखिएको थियो। दोस्रो केस त्यसको दुर्ई महिनापछि वाग्मती प्रदेशमा नै देखियो। त्यस लगत्तै सरकारले लकडाउन घोषणा गर्‍यो। लकडाउनको दुई महिना पूरा हुँदा वाग्मती हुँदै सुरु भएको संक्रमण सबै प्रदेशमा फैलिसकेको छ।

खुल्ला सीमाका कारण भारतबाट सयौंको संख्यामा मानिस नेपाल भित्रिएसँगै प्रदेश १, प्रदेश २ र प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा समेत भारतबाट आएकाहरुमा संक्रमण देखिएको छ।

लकडाउनको ६१औं दिनसम्म देशभर कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। सबैभन्दा बढी संक्रमित प्रदेश ५ र प्रदेश २ मा छन्।

प्रदेश ५

प्रदेश ५ कोरोना भाइरसको हटस्पट बनेको छ। नेपालगञ्जबाट सुरु भएको संक्रमण हाल अधिकांश जिल्लामा फैलिसकेको छ। शनिबारसम्म यो प्रदेशको संक्रमित हुनेको संख्या २७१ पुगेको छ। बाँकेमा मात्रै १४२ जनामा संक्रमण देखिएको छ। त्यस्तै कपिलवस्तुमा ७७ जनामा संक्रमण देखिँदा रुपन्देहीमा ३७ जना संक्रमित भएका छन्।

नवलपरासी पश्चिममा ६ जना कोभिड १९ बाट संक्रमित हुँदा दाङमा ४ जना र बर्दियामा ३ जनामा संक्रमण देखिएको छ।

गुल्मी घर भएका पुरुषको रुपन्देहीमा र बाँकेमा एक जनाको मृत्यु भइसेको छ। यस प्रदेशमा संक्रमितमध्ये २२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन्।

प्रदेश २

प्रदेश ५ पछि सबैभन्दा बढी संक्रमित प्रदेश २ मा रहेका छन्। यहाँ १७२ जनामा संक्रमण देखिँदा प्रदेशको सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ। कोरोनाको अर्को हटस्पटको रुपमा रहेको प्रदेश २ को पर्सा जिल्लामा ९१ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसपछि सबैभन्दा बढी संक्रमित सर्लाहीमा ३३ जना र रौतहटमा २२ जना रहेका छन्। बारामा ११ जना संक्रमित हुँदा धनुषामा ९ जना महोत्तरीमा ३ जना, सप्तरीमा २ जना र सिरहामा १ जनामा कोभिड १९ पोजिटिभ देखिएको छ। 

खुल्ला सीमाका कारण नेपाली स्वदेश फर्किरहेका कारण यस प्रदेशमा संक्रमण खतरा बढ्दै गएको छ।

प्रदेश २ मा संक्रमितमध्ये १५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

प्रदेश १

उदयपुरबाट यस प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको थियो। पछिल्लो केही हप्तामा संक्रमितको संख्या ३३ जनामा नै सिमित रहेकोमा हाल यस प्रदेशको अन्य जिल्लाहरुमा संक्रमित थपिँदै गएका छन्।

भारतबाट स्वदेश फर्किनेको क्रम बढेसँगै यस प्रदेशको झापा जिल्लामा सबैभन्दा बढी संक्रमित देखिएका छन्। झापामा ३६ जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरमा भने ३३ जनामा संक्रमण देखिएको छ। धनुकुटामा ७ जनामा कोभिड १९ पोजिटिभ देखिँदा मोरङमा ५ जना र सुनसरीमा ३ जनामा संक्रमण देखिएको छ।

खोटाङ र भोजपुरमा एकएकजना संक्रमित रहेका छन्।

कूल ८६ संक्रमितमध्ये २६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन्।

वाग्मतीमा प्रदेश

काठमाडौंबाट देखिन सुरु भएको संक्रमण हाल प्रदेशको अन्य जिल्लामा फैलिन सुरु भएको छ। यस प्रदेशको १० जिल्लामा ३२ जनामा संक्रमण देखिएको छ। 

कोरोनाको पहिलो केस हुँदै जिरो एक्टिभ केसमा पुगिसकेको काठमाडौंमा पछिल्लो केही दिन यता संक्रमित थपिँदै गएका छन्। हालसम्म काठमाडौंमा १३ जनामा कोरोना संक्रमण देखिएको छ। उपत्यकाका अन्य जिल्ला, भक्तपुरमा ४ जनामा संक्रमण देखिएको छ भने ललितपुरमा १ जनामा संक्रमण देखिएको छ। 

चितवनमा ६ जनामा कोभिड १९ पोजिटिभ देखिएको छ भने मकवानपुरमा ३ जना र धादिङमा २ जनामा संक्रमण देखिएको छ। काभ्रे, रामेछाप र सिन्धुलीमा एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृत्यु यसै प्रदेशमा भएको हो। सिन्धुपाल्चककी महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। अहिले संक्रमण देखिएकामध्ये ९ जना निको भएर डिस्चार्ज भइसकेका छन्।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा पछिल्लो चरणमा कोरोना संक्रमितको नयाँ केस देखिएका छन्। प्रदेशको कैलालीमा ४ जना र कञ्चनपुरमा १ जना गरी ५ जनामा मात्रै सीमित रहेको संख्या हाल १४ पुगेको छ। कैलालीमा सबैभन्दा बढी ७ जनामा संक्रमण देखिएको छ भने बैतडीमा ५ जनामा संक्रमण देखिएको छ। डडेलधुरा र कञ्चनपुरमा एकएकजनामा संक्रमण देखिएको छ। यहाँ पाँच जना डिस्चार्ज भइसकेका छन्।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको ४ जिल्लाका ५ जनामा संक्रमण देखिएको छ। बाग्लुङमा पहिलोपटक दुई जनामा संक्रमण देखिएको थियो। उनीहरु दुवै जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। नवलपरासी पूर्वमा दुई जना संक्रमित रहेका छन्। यहाँ लमजुङ र गुल्मीमा एकएक जनामा संक्रमण देखिएको छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा केही समयअघि मात्रै कोरोनाको पहिलो केस देखिएको थियो। हाल यस प्रदेशमा कोरोनाको ४ एक्टिभ केस रहेका छन्। सुर्खेतमा ३ जना र दैलेखमा १ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमित भारतबाट आएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell