PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

नरैनापुरले गुहार्‍यो सरकार : संक्रमितलाई भगाउन खोजे, बचाउ...



पहिलोपोस्ट

नरैनापुरले गुहार्‍यो सरकार : संक्रमितलाई भगाउन खोजे, बचाउ...

काठमाडौं : बाँकेको नरैनापुरमा कोरोना संक्रमितलाई भगाउनेहरु सक्रिय भएको भन्दै गाउँपालिकाले सुरक्षाको माग गरेको छ। अत्याधिक संक्रमित भेटिएको यहाँको क्वारेन्टाइनको अव्यवथा कतै कोरोना विष्फोट हुने केन्द्र त बन्दैछैन?  

प्रदेश पाँचको बाँकेमा रहेको सीमावर्ती गाउँ नरैनापुर नेपालमा कोरोना संक्रमित सबैभन्दा बढी हुने स्थानीय निकाय हो। भारतसँग सीमा जोडिएको र प्रदेशकै पनि पिछडिएको यस गाउँपालिकामा अहिलेसम्म १ सय १४ जना कोरोना संक्रमित छन्।

यहाँका क्वारेन्टाइनमा भारतबाट नेपाल भित्रिनेक्रम जारी छ। दिन दुगुना रात चौगुना मानिसहरु भित्रने क्रम जारी रहेकाले सिंगो बाँके जिल्ला नै प्रभावित भएको छ। भारतका महाराष्ट्र र दिल्लीबाट यहाँ मानिसहरु ओइरिरहेका छन्।

'सुरक्षा, भौतिक पूर्वाधार तथा जनचेतनाको अभावका कारण स्थिति नियन्त्रणभन्दा बाहिर जाने भएकाले सम्बन्धित निकायमा जानकारी गराएका छौं,' गाउँपालिकाका प्रशासकीय अधिकृत मणिराम खरालले भने।

यस गाउँपालिकामा मात्रै अहिलेसम्म ८ सय जना क्वारेन्टाइनमा रहेका छन्। भने दिनहुँ मानिसहरु थपिनेक्रम जारी छ। 'स्कुलको एउटै कोठामा तीन चार जनालाई राख्नु परेको छ,' उनले भने, 'यसले त झन् संक्रमण फैलिएला भन्ने त्रास भएको छ।'

स्थिति नियन्त्रणबाहिर जाने भएपछि नरैनापुर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्राचार गर्दै गुहार गरेको छ -

'संक्रमित र निजका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाइरसको बारेमा भ्रम सिर्जनागरी सुरक्षाकर्मी कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने प्रयास गर्ने जस्ता क्रियाकलाप भइरहेका छन्। यस्तो अवस्थामा क्वारेन्टाइनबाट समुदायस्तरसम्म संक्रमण फैलिने र स्थिति भयावह हुने सम्भावना देखिएको सन्दर्भमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएकाले तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अगाडि बढाउने व्यवस्थाका लागि अनुरोध छ,' प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बोधार्थ दिँदै गरिएको पत्राचारमा लेखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell