
काठमाडौं : नेपालसँग झन्डै १ सय किलोमिटर सीमा जोडिएको भारतीय राज्य सिक्किममा पहिलो कोरोना संक्रमण देखिएको छ। कोरोनाले भारतका अन्य राज्यहरुमा कहर मच्चाइरहँदा सुरक्षित रहेको सिक्किममा हिजो पहिलो कोभिड १९ केस देखा परेको हो। भारतमा हिजोसम्म १ लाख २९ हजार ५ सय ३९ जना संक्रमित भेटिएका छन्।
लामो अवधिको लकडाउन पछि भारतले आप्रवासी मजदुरलाई उनीहरुको गाउँ फर्काउन थालेसँगै संक्रमण कम भएका ठाउँहरुमा पनि यसको विस्तार हुन थालेको छ। सिक्किम भारतको सबैभन्दा कम जनसंख्या भएको राज्य हो
इन्डियन रेलवेजले आगामी १० दिनमा २ हजार ६ सय थप श्रमिक स्पेसल रेल संचालन गर्ने भएको छ जसबाट ३६ लाख आप्रवासी मजदुर आफ्नो गाउँ फर्किन सक्नेछन्। पछिल्लो २३ दिनमा यति नै संख्यामा श्रमिकका लागि रेल संचालनमा ल्याइसकिएको छ। भारतले रेल सेवा सुरु गरेर श्रमिक फिर्ता पठाउन थालेपछि नेपालमा पनि कोरोनाका संक्रमितको संख्या ह्वात्तै माथि लागेको हो।
पूर्वी भारततिर लक्षित गरेर रेल सेवा चलाउने तयारी भएको छ जसको बुकिङ ९० देखि १०० प्रतिशत नै पुगिसकेको छ। रेलवे बोर्डका अध्यक्ष भीके यादवले अझै धेरै रेल परिचालन गरेर मानिसहरुलाई उनीहरुको राज्यमा पठाउने तयारी भइरहेको जानकारी दिए।
भारतले यो रेल सेवालाई राज्यभित्रैमात्र पनि संचालन गर्ने छ जसबाट करिब १० देखि १२ लाख यात्रुले सहजै दुरी तय गर्न पाउने छन्। भारतको गृह मन्त्रालयको आँकलन अनसार करिब ४० लाख मानिसहरुले बसबाटै दुरी तय गरिसकेका छन्।