
काठमाडौं : नेपालको सबैभन्दा होचो ठाउँको परिचय बनाएको कचनकवल गाउँपालिका अहिले भने प्रदेश नम्बर एकको कोरोना संक्रमणको हटस्पट बन्दै छ। प्रदेश नम्बर १ उदयपुरको भुल्केलाई अहिले यो गाउँपालिकाले संक्रमित संख्यामा उछिनेको छ। यहाँ ३३ जना कोरोना संक्रमणका विरामी पुष्टि भइसकेका छन्।
बिहीवार एकै दिन झापामा २३ जनामा कोरोना सङ्क्रमित थपिएका थिए। शनिवार थप एक जना कोरोना संक्रमित थपिए। तर, उनी कचनकवल गाउँपालिका थिएनन्। भारतसँग सीमा जोडिएको गाउँपालिकामा ९ हजार घर छन्। ४२ हजार मानिसको बसोबास रहेको यो गाउँपालिकामा अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारतमा छन्। भारतमा लकडाउन र कोरोन संक्रमति थपिँदै गर्दा उनीहरु गाउँ फर्किने गरेका छन्। उनीहरुसँगै कोरोना पनि गाउँमा आउने गरेको छ।
करिव ४ हजार युवा कामको शिलशिलामा भारतमा रहेको गाउँपालिका अध्यक्ष अन्जरा आलमको अनुमान छ। 'कोरोना देखिएका सबै जना भारतबाट आएका हुन्। यहाँ धेरै युवा रोजगारीको लागि भारतमा छन्,' अध्यक्ष आलमले भने।
सरकारले लकडाउन घोषणा गरेको केही सातादेखि घरफर्किने युवाको सङ्ख्या बढ्दै गएको छ। सीमामा कडाइ भए पनि उनीहरु लुकछिपी गाउँमा आउने गरेका छन्। यसरी गाउँमा आएका युवालाई क्वारेन्टाइनमा राख्ने गरिएको छ। कचनकवल गाउँपालिकमा अहिले २ सय ४४ जना क्वारेन्टाइनमा छन्। भारतबाट फर्किने युवाको सङ्ख्या थपिने आशंकामा गाउँपालिकाले थप क्वारेन्टाइन बनाइरहेको छ।
'आज पनि ५० जनाको समुह गाडीमा आउँदैछ भन्ने सुचना आइसकेको छ। उनीहरु आउने बित्तिकै क्वारेन्टाइनमा राख्ने हो। त्यसैले थप क्वारेन्टाइनको व्यवस्था गरिसकेका छौं,' अध्यक्ष आलमले भने।
गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने लक्ष्मी माविको दुई तले भवनमा गाउँपालिकाले हिजोमात्र क्वारेन्टाइन बनाएको छ। त्यहाँ १ सय ३० जनालाई राख्न सक्ने क्षमता छ। भारतबाट फर्किएकालाई त्यही भवनमा बनाएको क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ।
क्वारेन्टाइना रहेका १ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ। यसरी परिक्षण गरेकामध्ये ३३ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने बाँकीको नेगेटिभ आएको अध्यक्ष आलमले जानकरी दिए। क्वारेन्टाइनमा रहेकामध्ये १ सय २६ जनाको टेष्ट गर्न बाँकी छ। आज टेष्टका लागि स्वाब संकलन गरिने भएको छ।
' हामीले स्वाव संकलन गर्ने किट किनेर ल्याइसकेका छौं। स्वाव संकलन गरेर टेष्ट गर्न पठाउँछौं,' अध्यक्ष आलमले भने।
महेन्द्र मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, पाठामारीमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ। सबैभन्दा धेरै संक्रमित लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेकामा पाइएको हो।
उदयपुरबाट यस प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको थियो। पछिल्लो केही हप्तामा संक्रमितको संख्या ३३ जनामा नै सीमित रहेकोमा हाल यस प्रदेशको अन्य जिल्लाहरुमा संक्रमित थपिँदै गएका छन्। भारतबाट स्वदेश फर्किनेको क्रम बढेसँगै यस प्रदेशको झापा जिल्लामा सबैभन्दा बढी संक्रमित देखिएका छन्। झापामा ३६ जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरमा भने ३३ जनामा संक्रमण देखिएको छ। धनुकुटामा ७ जनामा कोभिड १९ पोजिटिभ देखिँदा मोरङमा ५ जना र सुनसरीमा ३ जनामा संक्रमण देखिएको छ।
खोटाङ र भोजपुरमा एकएकजना संक्रमित रहेका छन्। कूल ८६ संक्रमितमध्ये २६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन्।