
काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनका परिवारका थप दुई जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ।
'उहाँ धेरै बाहिर निस्किने र घुलमिल गर्नेखालको नभएकाले धेरै फैलिने सम्भावना कम छ,' गोकर्णेश्वर नगरपालिका ७ का अध्यक्ष केशव गुरुङले भने, 'त्यसैले धेरै आत्तिनुपर्ने अवस्था छैन।'
उनका अनुसार परिवारका दुई जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर पठाइसकिएको छ। संक्रमितको घर सिल गरेर परिवारका सदस्यलाई आइसोलेसनमा रहन भनिएको छ।
'उहाँहरुको रिपोर्टमा पोजेटिभ देखियो भने उहाँहरुसँग भेट भएका अरु मानिसहरुको ट्रेसिङ गर्नुपर्ने हुन्छ,' अध्यक्ष गुरुङले भने, 'हामी त्यसका लागि तयारी अवस्थामा छौं।'
गोकर्णेश्वरमा संक्रमित देखिएका युवक ग्रान्डी अस्पतालका कर्मचारी हुन्। गोकर्णेश्वर नगरपालिकाभित्र कोरोनाको यो दोस्रो केस हो। यसअघि वडा नम्बर ४ मा एकजना संक्रमित भेटिएका थिए। उनी भैरहवाबाट घर फर्केका थिए, त्यही आधारमा उनको परीक्षण गरिएको थियो।