
काठमाडौं : स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा पाँच सय ८४ जनामा कोरोना भाइरस रोग (कोभिड-१९)को संक्रमण पुष्टि हुँदा कुन भेगमा संक्रमण कस्तो छ त? कुन उमेर समूह सबैभन्दा प्रभावित छन्? यतिखेर सबैको चासोको विषय बनेको छ।
नेपालमा कूल ४५ हजार नौ सय ५९ जनाको थ्रोट स्वाब आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा पाँच सय ८४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो।
माघ ९ गते पहिलो पटक नेपालमा पुष्टि भएको कोभिड-१९ को संक्रमण चैत महिना ११ गत लकडाउन सुरु गरेसँगै क्रमश: बढ्दै गएको हो। संक्रमण पछिल्लो समय दैनिक दोहोरो अंगमा बढिरहेको छ।
लिंगका आधारमा संक्रमित
संक्रमित मध्ये सबै भन्दा बढी पुरुष छन्। पाँच सय ५ जना पुरुषमा संक्रमण पुष्टि हुँदा ७९ जना महिला संक्रमित भएका छन्।
उमेर समूहका आधारमा संक्रमण
संक्रमित कूल जनसंख्यामध्ये सबैभन्दा बढी २१-३० वर्ष उमेर समूहका छन्। कूल संक्रमित मध्ये यस उमेर समूहका ३७.३ प्रतिशत संक्रमित छन्। त्यस्तै ३१-४० वर्ष उमेर समूहका २३.८ र ११-२० वर्ष उमेर समूहका संक्रमित १९.९ प्रतिशत छन्। त्यस्तै ४१-५० वर्षका ९.२ प्रतिशत संक्रमित छन्। कूल संक्रमित मध्ये २.८ प्रतिशत ५१-६०, २.९ प्रतिशत १० वर्षसम्मका बालबालिका छन्। ६१-७० वर्षका २.२ प्रतिशत संक्रमित छन्।
प्रदेशगत अवस्था
नेपालका सातै वटा प्रदेशमा संक्रमण पुष्टि भएको छ। सबै भन्दा बढी प्रदेश ५ मा संक्रमण दुई सय नाघेको छ।
प्रदेश ५ मा २७१ जनामा संक्रमण पुष्टि भइसकेको छ। प्रदेश पाँचका सातवटा जिल्लामा संक्रमण पुगेको छ। तराईका जिल्लाहरुमा संक्रमण बढी देखिएको भारतसँग सीमा जोडिएका प्रदेश ५ का सबै जिल्लामा संक्रमण बढी छ। प्रदेश ५ मा दुई जनाको मृत्यु भइसकेको छ। यहाँ हाल २४७ जना संक्रमित आइसोलेसनमा रहेका छन्। यहाँ १७ हजार १३० जनालाई क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै यहाँ २२ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।
पछि प्रदेश २ मा बढी संक्रमण देखिएको छ। यहाँ संक्रमितको संख्या १७२ छ। यहाँ ६ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन्। यहाँ छ हजार नौ सय १० जना क्वारेन्टाइनमा छन् भने १६६ जना संक्रमितलाई आइसोलेसनमा राखिएको छ। प्रदेश २ का सबै जिल्लामा संक्रमण पुगेको छ।
प्रदेश २ पछि बढी संक्रमित प्रदेश हो प्रदेश १। यहाँ ८६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये २६ जना उपचारपछि घर फर्किएका छन्। यहाँ एक हजार चार सय ६१ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
वाग्मती प्रदेशका १० जिल्लामा संक्रमण पुगेको छ। यहाँ संक्रमितको संख्या ३२ पुगेको छ। जसमध्ये ९ जना उपचार पछि निको भएर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ। वाग्मती प्रदेशमा पाँच सय ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
गण्डकी प्रदेशमा संक्रमित जिल्ला तीन छन्। यहाँ पाँच जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये २ जना उपचार पछि घर फर्किसकेका छन्। त्यस्तै यहाँ सात सय ७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
त्यस्तै, सुदुरपश्चिम प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये पाँच जना उपचार पछि डिस्चार्ज भएका छन्। यहाँ चार हजार एक सय २ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै कर्णाली प्रदेशमा चार जनामा संक्रमण पुष्टि भएको छ। यहाँ एक हजार छ सय ७० जनालाई क्वारेन्टाइनमा राखिएको छ।
जिल्लागत अवस्था
संक्रमण सातै प्रदेशमा पुग्दा संक्रमण पुष्टि भएका जिल्लाको संख्या ४१ पुगेको छ।
सबैभन्दा बढी संक्रमण बाँकेमा छ। बाँकेमा एक सय ४२ जनामा संक्रमण पुष्टि हुँदा त्यहाँको नरैनापुर गाउँपालिकाका मात्र एक सय १३ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ।
त्यस्तै प्रदेश २ को पर्सामा संक्रमितको संख्या ९१ पुगेको छ। प्रदेश ५ को बाँकेमा ७७, रुपन्देहीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश १ को झापामा ३६ र उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सर्लाहीमा पनि ३३ जनामा संक्रमण पुष्टि भएको छ। भने रौतहटमा २२ बारामा ११ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा पनि ११ जनामा संक्रमण पुष्टि भएको छ।