PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दिल्ली सरकारले सिक्किमलाई छुट्टै देश मान्दै विज्ञापन जारी गरेपछि घेरामा मुख्यमन्त्री केजरिवाल



पहिलोपोस्ट

दिल्ली सरकारले सिक्किमलाई छुट्टै देश मान्दै विज्ञापन जारी गरेपछि घेरामा मुख्यमन्त्री केजरिवाल

दिल्ली सरकारले जारी गरेको एक विज्ञापनमा सिक्किमलाई नेपाल र भुटान जस्तै छुट्टै देशको रुपमा चित्रण गरिएको भन्दै भारतमा विवाद सिर्जना भएको छ।

भारतको केन्द्रीय सरकारको सत्तारुढ दलले दिल्ली सरकारले माफी माग्नुपर्ने बताएको छ।

यता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सिक्किम भारतको अभिन्न अंग भएको भन्दै विज्ञापन स्वीकृत गर्ने अधिकारीलाई कारवाही गरिने स्पष्टिकरण दिएका छन्।

केजरिवालले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्। उनले विज्ञापन फिर्ता लिएको समेत जनाएका छन्।

दिल्ली सरकारको सिभिल डिफेन्स कोरमा स्वयंसेवक भर्ना सम्बन्धी विज्ञापनमा योग्यताको रुपमा भारतका नागरिक या भुटान, नेपाल वा सिक्किमका जनता हुनुपर्ने वा दिल्ली निवासी हुनुपर्ने उल्लेख थियो।

सामाजिक सञ्जालमा दिल्लीका मुख्यमन्त्री केजरीवालले माफी माग्नुपर्ने भन्दै अभियान नै चलेको छ।

उक्त विज्ञापन प्रकाशित भएपछि सिक्किम सरकारले तत्काल आपत्ति जनाउँदै त्यसबाट अत्यन्त चोट पुगेको भन्दै त्यसलाई हटाउन माग गरेको थियो। सिक्किम सरकारका मुख्यसचिव एससी गुप्ताले दिल्ली सरकारलाई पत्र लेख्दै सिक्किमका जनताले भारतीय नागरिक भएकोमा गर्व गर्ने गरेको भन्दै विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुगेको जनाएका थिए।

‘१६ मे १९७५ मा भारतको २२ औं राज्यका रहँदै आएका सिक्किमका जनताका जसले महान भारतको नागरिक हुनुमा गर्व गर्छन् । यो विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुऱ्याएको छ त्यसैले उक्त विज्ञापन फिर्ता गर्न अनुरोध गर्छौं,’ पत्रमा भनिएको छ।

साथै सिक्किमका मुख्यमन्त्री प्रेमसिहं तामाङ (गोले)ले पनि विज्ञापनमा भएको गल्ती भत्सर्नायोग्य भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका थिए। गोलेले सिक्किमले साता अगाडि मात्र 'स्टेट डे' मनाएको स्मरण गराएका छन्।

This advertisement published by the Delhi Government in various print media mentions Sikkim along with countries like Bhutan and Nepal. Sikkim has been a part of India since 1975 and celebrated the State Day just a week ago.

चौतर्फी विरोध पछि दिल्ली सरकारले सिभिल डिफेन्सका निर्देशकलाई बर्खास्त गरेको छ।

केजरीवालले पनि यस्ता गल्तीहरु अक्षम्य भएको भन्दै संलग्न अधिकारीहरुलाई कारवाही गरिने प्रतिवद्धतासहित विज्ञापन फिर्ता लिएको घोषणा गरेका छन्।

यता विज्ञापन जारी गर्ने अधिकारीमाथि गरिएको कारवाहीको समेत विरोध सुरु भएको छ। विज्ञापन १९६८ को सिभिल डिफेन्स रेगुलेसन अन्तर्गत गरिएको भन्दै विज्ञापन गर्ने अधिकारीको समेत बचाउ गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell