
काठमाडौं : राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले संघीय संसदको लोगो र राष्ट्रिय सभाका सांसदले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको कार्यकक्षमा आइतवार बसेको बैठकले संघीय संसदका दुबै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने निर्णय गरेको हो। त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम २२१ बमोजिम माननीय सदस्यको पोशाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ।
सरकारले गत वुधवार नयाँ नक्सा जारी गरेको थियो। गत शुक्रवारको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्ने निर्णय गरेको लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको थियो। उक्त प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ।
त्यस्तै बैठकले १२ गतेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक मुस्लिम समुदायको पर्व ईदुल फित्र परेकोले हुनाले सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने निर्णय समेत गरेको छ।