
हेटौंडाः पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको भन्दै अफहवा फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो। निजगढ नगरपालिका १२ रतनपुर घर भएका रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–५ भैरवरोडबाट पक्राउ गरेको हो।
रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौँडा–३ मा कोरोना सङ्क्रमित महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको र घरमा क्यानडाबाट आएको छोरीले पार्टी दिएको, सूर्यले हेटौँडा डुबाउँदैछ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेका थिए।
पौडेलसहित हेटौँडावासीले रिजाललाई पक्राउ गर्न चौतर्फी दबाब दिएको जनाइएको छ । पक्राउ परेका रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। रासस