PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सुदूरपश्चिम कोरोनाको उच्च जोखिममाः गौरीफन्टाबाट एक सातामा आठ हजार भित्रिए, सीमामा भएन परीक्षण 

सुदूरपश्चिम कोरोनाको उच्च जोखिममाः गौरीफन्टाबाट एक सातामा आठ हजार भित्रिए, सीमामा भएन परीक्षण 

एम बम/पहिलोपोस्ट


कैलालीः जेठ ८ गते गौरीफन्टा नाका भएर भित्रिएका बैतडीका ४ जनामा कोरोना पुष्टि भयो। नाकाबाट आएकामा कोरोना पोजेटिभ देखिँदा पनि स्वास्थ्य परीक्षण बिना नै धमाधम भित्रिने क्रम रोकिएको छैन। दिन प्रतिदिन सङ्ख्या बढ्दै गएको छ।

सीमामा आरडीटी परीक्षण किट समेत अभाव भएपछि बिना परीक्षण उनीहरूलाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याएको छ। नाकामा स्थानीय तहले नै गाडीको व्यवस्था गरेका छन्।

आठ हजार बढी भित्रिए

दुई देशको सहमतिमा यथास्थानमै रोकिएका नागरिकलाई जेठ २ गतेपछि आउन जान दिइएको छ। त्यसयता गौरीफन्टा नाकाबाट एक सातामा आठ हजार २७९ जना नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

जेठ २ र ३ गते ९५०, ७ गते ८५८, ८ गते दुई हजार ४९८, ९ गते दुई हजार १४ जना र १० गते एक हजार ९५९ जना नाकाबाट भित्रिएको प्रहरीको तथ्याङ्क छ ।

भित्रिने क्रम जारी छ। सोमबार साँझसम्म थप एक हजार ८९९ जना आइसकेका छन्।

जेठ २ र ३ गते भित्रिएका ९५० जनाको ¥यापिड टेस्ट गरिएको थियो। महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो। त्यसपछि ७ गते आएकाहरूलाई परीक्षण नै नगरी पठाइएको र ८ गते आएका दुई हजार ४९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षको रेकर्ड छ। 

परीक्षण बिना नै नागरिक भित्रिएपछि जोखिम बढेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए। जोशीले भने, ‘हामीले सुरुवातबाटै भारतबाट आउनेको परीक्षण र व्यवस्थापनमा निकै सतर्क बन्नुपर्छ भनेर माग गरेका थियौँ। त्यसो हुन सकेन। अब यसले सुदूरपश्चिमका ग्रामीण भेगसम्म जोखिम न्यूनीकरणमा असहजता ल्याउन सक्छ।’

प्रदेश भित्रिएकाहरूको स्वास्थ्य परीक्षणका लागि सामग्री नै नभएपछि परीक्षण बिना नै पठाउन थालिएको हो।

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले भने क्वारेन्टाइनपछि कोरोना जाँच गरिने बताए।

सुवेदीले भने, ‘अहिले सामग्री अभावमा सम्बन्धित स्थानीय तहलाई उच्च सतर्कता अपनाउन भने पठाएका छौँ। १४ दिन क्वारेन्टाइनमा बसेपछि जाँचको व्यवस्था प्रदेश सरकारले गर्छ । हामीले संघमा सामग्री माग गरेका छौँ। प्रदेशले आफैँ पनि ७२ घण्टे बेलपत्र आह्वान गरेर सामग्री खरिदको प्रक्रिया अघि बढाइसकेको छ।’

अबको एक हप्ताभित्र ३० हजार आरडीटी किट र २ हजार पीसीआर परीक्षणका लागि सामाग्री आइपुग्ने सरकारको दाबी छ।

दुई महिनासम्म नागरिक नाकामै अलपत्र हुँदा समेत प्रदेशले आवश्यक कुनै पनि तयार नगरेको हो। पूर्व तयारी नहुँदा सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा परेको छ।

नेपाल फर्कनेलाई व्यवस्थित बनाइने तर रोक नलगाउने स्थानीय प्रशासनको भनाई छ।



ट्रेन्डिङ पोस्ट

Ncell