
काठमाडौं : जिल्ला सुरक्षा समिति बाँकेले कोरोना भाइरसबाट प्रभावित नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ। नरैनापुरमा हालसम्म १ सय १४ जनामा संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ।
‘संक्रमितहरुको संख्या धेरै बढ्यो। यस्तो अवस्थामा लकडाउनलाई थप प्रभावकारी बनाएनौँ भने समुदायस्तरमै संक्रमण फैलिने खतरा रहन्छ। त्यसकारण लकडाउन प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो,’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने।
उनका अनुसार निषेधित क्षेत्र घोषणापछि सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको छ। निषेधित क्षेत्र कार्यान्वयनमा आएपछि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उपस्थितिमा परीक्षणको दायरा अझै बढाइने उनले बताए। नरैनापुरमा साँझ ८ बजेदेखि निषेधित क्षेत्र कार्यान्वयनमा आउनेछ।
यसअघि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले संक्रमित थपिएर स्थिति नियन्त्रण बाहिर गएकाले सेना परिचालनका लागि जिल्ला सुरक्षा समितिलाई पत्र लेखेका थिए।