
काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलकासाथ खटिन मातहतका अधिकृतलाई निर्देशन दिएका छन्।
हालै सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह लगाइदिए पछि मातहत अधिकृतहरुलाई उनले सो निर्देशन दिएका हुन्। नेतृत्व तहले राष्ट्र¸ जनता र संगठनको हितमा कार्य गरेको भन्दै उनले आफूले के पाएँ नभई राष्ट्र र संगठनका लागि के गरेँ भनेर सोच्नु पर्ने बताए।
सामूहिक भावनाले कार्य गर्न मातहतलाई निर्देशन दिँदै महानिरीक्षक खनालले आफूलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मुलुक र जनताको हितमा हरसमय कार्य गर्न समेत निर्देशन दिए। राष्ट्र सेवक कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्यमा कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै उनले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मुलुक र जनतालाई फाइदा पुग्ने बताए।
राष्ट्र¸ राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रसेवक कर्मचारीहरु ईमान्दार र कर्तव्य निष्ठ भई देश र आम नागरिकको सेवा¸ सुरक्षा सहयोग तथा उद्धारमा अविचलित भई अहोरात्र खटिन समेत निर्देशन दिए।
सो अवसरमा उनले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा बोर्डर आउट पोस्ट १ वर्ष भित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १ सय २३ ठाउँमा स्थापना भइसकेको र यस बीचमा उत्तरतर्फ २ वटा बोर्डर आउट पोस्ट स्थापना गर्न सफल भएको जानकारी समेत दिए।