PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोरोना जोखिममा फ्रन्टलाइनमा खटिनेः बारामा थप चार प्रहरीमा संक्रमण पुष्टि, पर्सामा थपिए दुई संक्रमित



राधेश्याम पटेल

कोरोना जोखिममा फ्रन्टलाइनमा खटिनेः बारामा थप चार प्रहरीमा संक्रमण पुष्टि, पर्सामा थपिए दुई संक्रमित

वीरगंज: बारा र पर्सामा आइतबार ६ जना नयाँ संक्रमित थपिएका छन्। जसमा पर्साका २ र बाराका ४ पुरुष रहेका छन्। वीरगंज त्रिजुद्ध स्कुलको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको हो। वीरगंज १६ नगवाका बासिन्दा ६० वर्षे र वीरगंजकै अर्का २५ वर्षे युवकमा संक्रमण पुष्टि भएको हो। 

बाराका संक्रमित जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेको खुलेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो।

बारामा संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ। जेठ ७ गते एक प्रहरी जवानमा कोरोना भेटिएको थियो।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले चार प्रहरीमा कोरोना देखिएको पुष्टि गरे।

संक्रमण पुष्टि भएकामा सर्लाही घर भएका ४९ वर्षीय प्रहरी नायव निरीक्षक, पर्सा घर भएका ३४ वर्षीय प्रहरी हवल्दार, ३२ वर्षीय प्रहरी जवान र रौतहट घर भएका ३४ वर्षीय प्रहरी जवान रहेका छन्।

बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले चार प्रहरीमा संक्रमण देखिएको र संक्रमित प्रहरीलाई कलैया अस्पतालमा लैजाने तयारी गरिएको बताए।

यसअघि जेठ ७ गते रौतहट घर भई जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो। रौतहट घर भएका प्रहरी जवानमा कोरोमा देखिएपछि कार्यालयमा कार्यरत २५ प्रहरीसहित ४९ जनाको स्वाब परीक्षणका लागि काठमाडौंमा पठाइएको थियो। जसमा चार प्रहरीमा कोरोना पुष्टि भएको हो।

योसँगै बारामा कोरोना संक्रमित हुनेको संख्या १६ पुगेको छ भने पर्सामा ९३ जना संक्रमित पुगेका छन्। बारामा यसअघि सिम्रौनगढ नगरपालिकामा ७, करैयामाई गाउँपालिकामा २, जीतपुरसिमरा उपमहानगरपालिकामा १, विश्रामपुर गाउँपालिकामा १ र एक प्रहरी जवानमा कोरोना देखिएको थियो।

संक्रमितमध्ये जीतपुरसिमरा उपमहानगरपालिका एक र सिम्रौनगढका एक गरी दुई जना उपचारपछि शनिबार घर फर्किएका छन्। संक्रमण देखिएकालाई कलैया अस्पतालमा र वीरगज अस्पतालको आइसोलेसनमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell