
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाका प्रमुख वन अधिकृत (दशौँ तह) सन्तमाया श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। काठ व्यवसायीसँग घुस लिएर काठमाडौँ आउँदै गर्दा पक्राउ परेकी उनीमाथि अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले श्रेष्ठविरुद्ध दुई लाख तीन हजार ५०० रुपैयाँ बिगो दाबी गरेको छ।
डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत सन्तमायाले काठ व्यापारीसँग घुस लिएर दोलखाबाट काठमाडौँ आउने क्रममा अख्तियारले पक्राउ गरेको थियो। सरकारी गाडीसहित भक्तपुरको गठ्ठाघरबाट अख्तियार टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। करिब दुई महिनापछि अख्तियारले मुद्दा दायर गरेको हो।