काठमाडौं : स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा छ सय ३ जनामा कोरोना भाइरस रोग (कोभिड-१९)को संक्रमण पुष्टि हुँदा कुन भेगमा संक्रमण कस्तो छ त? कुन उमेर समूह सबैभन्दा प्रभावित छन्? यतिखेर सबैको चासोको विषय बनेको छ।
नेपालमा कूल ४५ हजार नौ सय ५९ जनाको थ्रोट स्वाब आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा ६०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो।
माघ ९ गते पहिलोपटक नेपालमा कोभिड-१९ पुष्टि भएको थियो। चैत महिना ११ गते लकडाउन सुरु गरेसँगै संक्रमितको संख्या क्रमशः बढ्दै गएको छ। संक्रमण पछिल्लो समय दैनिक दोहोरो अंकमा बढिरहेको छ।
उमेर समूहका आधारमा संक्रमण
संक्रमित सबैभन्दा बढी २१-३० वर्ष उमेर समूहका छन्। कूल संक्रमितमध्ये यस उमेर समूहका ३६.७ प्रतिशत अर्थात् २२१ जना छन्। त्यस्तै ३१-४० वर्ष उमेर समूहका २४.४ र ११-२० वर्ष उमेर समूहका १९.२ प्रतिशत छन्। त्यस्तै ४१-५० वर्षका ९.५ प्रतिशत छन्। संक्रमित मध्ये ४ प्रतिशत ५१-६०, २.८ प्रतिशत १० वर्षसम्मका बालबालिका छन्। ६१-७० वर्षका २.३ प्रतिशत संक्रमित छन्।
लिंगका आधारमा संक्रमित
लिंगका आधारमा पुरुष बढी संक्रमित छन्। संक्रमितमध्ये ८७ प्रतिशत पुरुष छन्। त्यस्तै १३ प्रतिशत महिला रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। महिला ७९ जना मात्र संक्रमित हुँदा पुरुष संक्रमितको संख्या ५२४ छ।
प्रदेशगत अवस्था
नेपालका सातै वटा प्रदेशमा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी प्रदेश ५ मा छन्। संक्रमित संख्या करिब तीन सय छ।
प्रदेश ५ मा २८१ जनामा संक्रमण पुष्टि भइसकेको छ। प्रदेश पाँचका सातवटा जिल्लामा संक्रमण पुगेको छ। भारतसँग सीमा जोडिएका प्रदेश ५ का सबै जिल्लामा संक्रमण बढी छ। प्रदेश ५ मा दुई जनाको मृत्यु भइसकेको छ। यहाँ हाल २४७ जना संक्रमित आइसोलेसनमा रहेका छन्। कोरोना भाइरसको संक्रमणबाट उपचारपछि निको भएर डिस्चार्ज हुने पनि यही प्रदेशका बढी छन्। यहाँबाट ३२ जना डिस्चार्ज भएका छन्।
यहाँ १९ हजार ५२५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
प्रदेश ५ पछि प्रदेश २ मा बढी संक्रमण देखिएको छ। यहाँ संक्रमण पुष्टि भएकाको संख्या १७९ छ। यहाँका १३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यहाँ आठ हजार २३८ जना क्वारेन्टाइनमा छन् भने १६६ जना संक्रमितलाई आइसोलेसनमा राखिएको छ। प्रदेश २ का सबै जिल्लामा संक्रमण पुगेको छ।
प्रदेश २ पछि बढी संक्रमित प्रदेश हो प्रदेश १। यहाँ ८६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २६ जना उपचारपछि घर फर्किएका छन्। यहाँ एक हजार ४६१ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
वाग्मती प्रदेशका ११ जिल्लामा संक्रमण पुगेको छ। यहाँ संक्रमितको संख्या ३४ पुगेको छ। जसमध्ये ९ जना उपचारपछि घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ। वाग्मती प्रदेशमा ५६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। आजै मात्र वाग्मती प्रदेशको नुवाकोटमा संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशमा संक्रमित जिल्ला तीन छन्। यहाँ पाँच जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किसकेका छन्। त्यस्तै यहाँ आठ सय ८२९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
त्यस्तै, सुदुरपश्चिम प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएका छन्। यहाँ छ हजार १४३ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै कर्णाली प्रदेशमा चार जनामा संक्रमण पुष्टि भएको छ। यहाँ तीन हजार ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
जिल्लागत अवस्था
संक्रमण सातै प्रदेशमा पुग्दा संक्रमण पुष्टि भएका जिल्लाको संख्या ४२ पुगेको छ।
सबैभन्दा बढी संक्रमण बाँकेमा छ। बाँकेमा १४२ जनामा संक्रमण पुष्टि हुँदा त्यहाँको नरैनापुर गाउँपालिकाका मात्र ११३ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। यहाँका २१ जना उपचारपछि घर फर्किसेका छन्।
त्यस्तै प्रदेश २ को पर्सामा संक्रमितको संख्या ९४ पुगेको छ। यहाँका सात जना डिस्चार्ज भइसकेका छन्।
प्रदेश ५ को कपिलवस्तुमा ८० जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा ४३ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको धागो कारखानामा रहेका ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
प्रदेश १ को झापामा ३५ र उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सर्लाहीमा पनि ३५ जनामा संक्रमण पुष्टि भएको छ। भने रौतहटमा २३ तथा बारामा १२ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा पनि १२ जनामा संक्रमण पुष्टि भएको छ।