PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रशासनले वास्ता नगर्दा आईसीपीमा अलपत्र भारतीयलाई स्थानीयले खुवाए खाना, बढ्यो संक्रमणको जोखिम



राधेश्याम पटेल

प्रशासनले वास्ता नगर्दा आईसीपीमा अलपत्र भारतीयलाई स्थानीयले खुवाए खाना, बढ्यो संक्रमणको जोखिम

वीरगंज : वीरगंजको एकीकृत जाँच चौकी (आईसीपी)को मुल गेटमा अलपत्र तीन सय भारतीयलाई खाना खुवाउने दुई गाउँका करिब ३ हजार स्थानीय कोरोना भाइरस संक्रमणको जोखिममा परेका छन्। स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले अलपत्र परेका भारतीयको व्यवस्थापन नगर्दा स्थानीयले उनीहरुलाई खाना खुवाएका हुन्।

विगत ५ दिनदेखि गाउँबाट चन्दा उठाएर अलपत्र भारतीयलाई मानवीय नाताले दुई छाक खाजा र खाना खुवाइएको स्थानीयले बताएका छन्। जसकारण वीरगंज–१७ अलौ र वीरगंज–२५ श्रीसियाका करिब ३ हजार परिवार कोरोनाको उच्च जोखिममा रहेको त्यहाँका अगुवाहरुले बताएका छन्।

वीरगंजको आईसीपी नाकाबाट गत मंगलवार २१० जना पर्सामा अलपत्र परेका भारतीयलाई स्वदेश फिर्ता गरिएपछि नेपालका विभिन्न जिल्लामा रहेका अन्य भारतीयहरु पैदल हिँडेर आईसीपी नाकासम्म पुगेका छन्। ३ सय भारतीयमा २० जना महिला र बालबालिका पनि रहेको बताइएको छ ।

वीरगंज-१७ अलौकी वडा अध्यक्ष सुकरानी देवीले महानगर र स्थानीय प्रशासनसँग वीरगंजकै क्वारेन्टाइनमा राख्ने तयारी भएतापनि हालसम्म कुनै टुंगो नलागेको बताइन्।

‘५ दिनदेखि जसोतसो गाउँलेहरुले सामूहिक भान्सा चलाएर भारतीयलाई बचाइरहेका छौँ, धेरैको स्वास्थ्य अवस्था पनि ठिक छैन,’ उनले भनिन्, कतिपय लामो पैदल यात्रा गरी वीरगंज पुगेका कारण अस्वस्थ छन्, चाँडै क्वारेन्टाइनमा राखिएन र सरसफाई तथा खानाको उचित प्रबन्ध मिलाइएन भने उनीहरुमध्ये कसैको मृत्यु भए कसले जिम्मा लिने?’

वडाध्यक्षका श्रीमान तथा स्थानीय अगुवा वीरेन्द्रप्रसाद यादवका अनुसार अलपत्र भारतीयहरु आईसीपीको गेटमा रहेका पसलमा गएर सामान किनिरहेका छन्। उनीहरु राति सडककै डिभाइडरमा सुतिरहेको उनले बताए।

उनले भने, ‘उनीहरुबाट गाउँले वा चालकहरुमा संक्रमण फैलिने उच्च जोखिम हुँदाहुँदै पनि ५ दिनदेखि व्यवस्थापन गरिएको छैन।’

यता, जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उनीहरुलाई वीरगंजकै ठाकुरराम, त्रिजुद्ध र सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिने छलफल भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell