PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चीनबाट नेपालका लागि छुटेको ‘रेल सर्भिस’ नभई ‘कम्बाइन रेल-रोडवे ट्रान्सपोर्ट सर्भिस’



विधुर ढकाल

चीनबाट नेपालका लागि छुटेको ‘रेल सर्भिस’ नभई ‘कम्बाइन रेल-रोडवे ट्रान्सपोर्ट सर्भिस’
Photo: en.people.cn

उत्तरी छिमेकी चीनदेखि नेपालका लागि मालवाहक यातायात सेवा शुरु भएको छ। शुक्रवार चीनको सान्सी प्रान्तबाट नेपालका लागि भनेर समान बोकेको रेल छुटेको छ। यो सेवामा रेल तथा सडक मार्गको प्रयोग हुनेछ। 

चीनले यसलाई रेल-रोडवे कार्गो ट्रान्सपोर्ट सर्भिस नाम दिएको छ। उसले सिआनबाट दक्षिण एसियाका लागि पहिलो सेवा भनेको छ। सिन्ह्वाका अनुसार यो सेवा चीनको चाइना रेलवे सिआन ग्रुप को लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्ट कर्प लिमिटेडले सञ्चालन गरेको हो।

सिआनबाट शुक्रवार नेपालका लागि हिँडेका सामान आगामी शनिवार नेपाल आइपुग्ने छन्। कार्गोमा पीभीसी पाइप, जुत्ता, कपडालगायतका सामाग्री रहेका छन्। 

रेल काठमाडौं आउने होइन

सान्सीबाट रेल छुटेको भन्दै नेपालमा उल्लास छ। सामाजिक सञ्जाल तथा अनलाइनहरुमा काठमाडौंसम्म रेल नै आइपुग्ने गरी समाचार सार्वजनिक भएका छन्।

तर, यो रेल सेवामात्र नभएर कम्बाइन रेलवे-रोडवे ट्रान्सपोर्ट सर्भिस हो। यसलाई पनि चीनले फ्राइट ट्रान्सपोर्ट सर्भिस भनेको छ। यसको मतलब यो सेवा यात्रुका लागि भन्दा पनि मालसामान ढुवानीका लागि मात्र हो। यो इन्टरमोडल पद्धतिबाट सञ्चालनमा आउने छ। 

नेपालमा चीनसँग जोडिने गरी रेलमार्ग छैन। छिमेकी चीनको रेल सेवा पनि नेपालको सीमासम्म आइपुगेको छैन। 

यो सेवा तीन भागमा बाँडिएको छ। जसमध्ये धेरै भाग रेलमार्ग पर्ने छ। सिआनदेखि नेपालका लागि सामान बोकेका कन्टेनर तिब्बतको सिगात्सेसम्मको करिब दुई हजार ८ सय ६० किलोमिटर रेलमार्फत ढुवानी हुनेछन्। सिगात्सेदेखि पाँच सय ६४ किलोमिटर ठूला कन्टेनर ट्रकले कन्टेनर केरुङसम्म ल्याउने छन्। त्यहाँदेखि यी कन्टेनर साना ट्रकमा राखेर काठमाडौंसम्म ल्याइने छ।

यसअघि सामुन्द्रिक मार्ग हुँदै तेस्रो मुलुकबाट आउने सामाग्री भारतको कलकत्ता बन्दरगाहबाट रेलमार्फत सीमा नाकासम्म कन्टेनरमा आइपुग्ने र त्यहाँदेखि कन्टेनर ट्रकमा नेपाल भित्रिने गर्थे। त्यस्तैगरी चीनबाट पनि नेपाली समान बोकेर फ्राइट ट्रेन निश्चित दूरीका लागि छुटेका हुन्। 

यद्यपि चीनबाट यो शुरु हुँदा सामुन्द्रिक मार्गबाट नेपाल आइपुग्ने समयभन्दा करिब ३० दिन छिटो हुनेछ।   

नाकाबन्दीको हल्लाले शुरु भएको होइन सेवा

यतिबेला नेपाल र दक्षिणी छिमेकी भारतसँगको सम्बन्धमा सीमा विवादको तिक्तता बढ्दै गएको छ। तिक्तता बढ्दै जाँदा सामाजिक सञ्जालमा ‘भारतले नाकाबन्दी लगाउने हल्लासँगै चीनले शुरु गर्‍यो  रेलसेवा’ भन्ने खालका सन्देश प्रवाह भएका छन्। कतिपय अनलाइनहरूले पनि यस्तै सन्देश दिनेगरि समाचार प्रकाशित गरेका छन्। 

तर, सामाजिक सञ्जालमा आएको जस्तो भारतले नाकाबन्दी लगाउने हल्ला चलेपछि रेल सेवा भने शुरु भएको भने होइन। शुक्रवार सान्सीबाट कार्गो छुट्नु एउटा संयोग मात्र हो। भारतसँगको सम्बन्ध छैन। 

यसअघि मे ११ मा पनि गान्सु प्रान्तको लान्चोउबाट यस्तै सेवा सुरु भएको थियो

गान्सुबाट नेपालका लागि समान लोड गरिएका कन्टेनर फ्राइट ट्रेनमा दुई हजार ४३१ किलोमिटरको दूरी पार गर्दै सिगात्से र त्यहाँदेखि कन्टेनर ट्रकमा पाँच ६४ किलोमिटर वर जिलोङ पोर्मा आइपुग्ने छन्। त्यहाँदेखि ट्रकमै राखेर समान काठमाडौं ल्याइनेछ। गान्सुबाट नेपालका भन्दै छुटेको कार्गो ट्रेनमा ४३ कार्गो र ८६ कार्गो कन्टेनर थिए। 

अहिले प्रचार गरिएजस्तै भारतसँगको सम्बन्ध चिसिएपछि रेल सेवा शुरु भएको होइन। यसअघि पनि नेपाली सेनाले खरिद गरेका स्वास्थ्य सामाग्री पनि रेलमार्फत सिगात्से हुँदै त्यहाँदेखि सडक मार्गबाट नेपाल आएका थिए।

यसअघि भारतले नाकाबन्दी लगाउँदा सिगात्से हुँदै नेपालमा पेट्रोलियम पदार्थको ढुवानी भएको थियो। त्यसैलाई जोडेर भारतसँगको सम्बन्ध देखाउन खोजिए पनि त्यस्तो भने होइन। 

यसअघि नेपाल र चीनबीच २०१६ मा भएको पारवहन सम्झौताको कार्यान्वयनको रूपमा यो सेवा शुरु भएको हो। नेपालले चीनका चार सामुन्द्रिक र तीन सुख्खा बन्दरगाहको रूपमा प्रयोग गर्ने छन्। 

ती बन्दरगाहबाट नेपालका लागि सामान ढुवानी गर्दा यही इन्टर मोडलको प्रयोग हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell