काठमाडौं : दुई महिना लामो लकडाउनसम्म सुस्ताएको सरकारी संयन्त्र कोरोनाको संक्रमणले छपक्कै ढाक्न लाग्दा भन्दैछ - सम्हाल्नै कठिन हुने अवस्था आयो। नेपालमा ढिलो गरी कोरोना संक्रमित विस्तार हुँदा पनि तयारी पर्याप्त नगर्दा कोभिड-१९ ले मुलुकलाई संकटतिर धकेल्दैछ। आखिर किन भयो त यस्तो?
क्वारेन्टाइन व्यवस्थापन गर्न बनाइएको मापदण्डको प्रस्तावनामा लेखिको छ - शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राखी समाजलाई सुरक्षित राख्न मापदण्ड तयार गरिएको छ।
मापदण्डमा यस्तो व्यवस्था भए पनि अहिले धेरै ठाउँमा त्यसको पालना त टाढाको कुरा क्वारेन्टाइन समेत छैन। भएका क्वारेन्टाइनलाई पनि क्वारेन्टाइनको परिभाषाभित्र समेट्न सकिन्न। सरकारले तय गरेकै मापदण्डमा क्वारेन्टाइन बनाउन स्थानीय तह र प्रशासन असफल भएका छन्, तराईका अधिकांश जिल्लाहरुमा।
संक्रमितको जुन ठाउँमा अधिक संख्या छ, त्यहाँ सकेसम्म मानिसलाई दुरी कायम गरेर क्वारेन्टाइनमा राख्नुपर्छ। तर, यहाँ ठीक उल्टो छ। धेरै संक्रमित भएको क्षेत्रमा साँघुरो कोठामा चार/पाँच जनालाई राख्नुपर्ने अवस्था आएको छ।
कतिपय ठाँउमा त परीक्षण गर्न पीसीआर त टाढाको कुरा आरडीटी किटको अभाव छ। संक्रमित तथा क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालेकाले स्थिति नियन्त्रण बाहिर जाने भन्दै स्थानीय सरकारहरु अहिले हारगुहार गर्न थालेका छन्।
क्वारेन्टाइन नै संक्रमणको बम बन्दै
नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भएको बाँकेको नरैनापुर गाउँपालिकाले शनिवार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै प्रधानमन्त्री कार्यालयलाई बोधार्थ पठाएको छ। स्थिति नियन्त्रण बाहिर जाने भन्दै जिल्ला प्रशासन कार्यालयसँग सहयोगका लागि अपील गरिएको छ पत्रमा। क्वारेन्टाइनबाट समुदायमा संक्रमण फैलने खतरा पनि उल्लेख छ त्यसमा।
उक्त गाउँपालिकामा अहिलेसम्म मात्र ८ सय जना क्वारेन्टाइनमा छन्। दिनहुँ मानिसहरु थपिनेक्रम जारी छ त्यहाँ। थपिँदै जाँदा नरैनापुरमा क्वारेन्टाइनको अभाव यसरी गाँजिएको छ कि धेरैजनालाई एकै ठाँउमा राख्न थालिएको छ। संक्रमित नभएकाहरु पनि संक्रमणको जोखिममा परेका छन् यतिखेर। गाउँपालिकाका प्रशासकीय अधिकृत मणिराम खरालले स्थिति भयावह हुन थालेको बताए।
'स्कुलको एउटै कोठामा तीन चार जनालाई राख्नु परेको छ,' उनले भने, 'यसले त झन् संक्रमण फैलिएला भन्ने त्रास भएको छ।' बाँकेमा अहिले १ सय ४२ जना संक्रमित छन्। यो कुनै पनि जिल्लामा रहेका संक्रमित संख्यामा सर्वाधिक हो।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय अहिले भएकै क्वारेन्टाइनको पनि गुणस्तर राम्रो नभएको स्वीकार्छन्। भारतबाट दैनिक आउने मानिसहरुको संख्या बढिरहेकाले क्वारेन्टाइन ब्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको उनको भनाई छ।
'१७ सय जना क्वारेन्टाइनमा छन्। अझै भारतबाट धेरै मान्छे आउँछन्। त्यसैले क्वारेन्टाइन ब्यवस्थापन गर्नै मुस्किल भइरहेको छ,' उनले भने। बाँकेमा ६० वटा क्वारेन्टाइन छन्।
'भारतबाट आउनेलाई क्वारेन्टाइन पुग्दैन'
कोरोना संक्रमित धेरै भएको हिसाबले अर्को रेड जोन हो पर्सा। आइतबार दिउँसोसम्म मात्रै त्यहाँ ९१ जना संक्रमित छन्। ३० ठाँउमा स्थापना गरिएका क्वारेन्टाइनमा ५ सय ३० जना मानिस रहेका छन्। क्वारेन्टाइनमा राख्न सकिने मानिसको संख्या ११ सय ५३ मात्र हो यहाँ। तर, भारतबाट कति भित्रिनेवाला छन्, यकिन छैन।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले गर्मी बढदै गएकाले क्वारेन्टाइन ब्यवस्थापनमा गाह्रो परिरहेको बताए। यसअघि भारतबाट धेरै मान्छे नआएकाले व्यवस्थापनि ठीकै देखिएको भए पनि आउँदो मंगलवारदेखि हजारौं मानिस भारतबाट ल्याइने तयारी छ। त्यसले व्यवस्थापन कसरी हुने भन्ने विषय टड्कारो बनेको छ।
'हामीले त सकेसम्म मापदण्ड पूरा हुनेगरी नै क्वारेन्टाइन बनाएका छौं तर धेरै मानिसहरु आउँदै छन्। क्वारेन्टाइनको संख्या तत्कालै बढाइएन भने अप्ठ्यारो पर्छ,' उनले भने।
त्यसमाथि पर्सामा लुकीछिपी दैनिक १२/१५ जनाका हिसाबले नेपाल भित्रनेक्रम जारी नै छ। प्रमुख नाका पर्ने भएकाले अन्य जिल्लाका मानिस पनि भित्रने छन्। तिनलाई सम्बन्धित जिल्लाले व्यवस्थित हिसाबले आफ्नो ठाउँसम्म नलैजाने हो भने तिनीहरु पनि पर्सामै अड्किने छन्। यसले थप जोखिम पैदा गर्नेछ।
'अहिले भारतले सीमानसम्म नेपालीहरुलाई ल्याएर छोडिरहेको छ भन्ने हामीले सुनेका छौं,' उनले भने, 'हामीले पर्सिदेखि उनीहरुलाई ल्याउने भनेका छौं। अब ल्याउने काम सुरु भयो भने त यताको क्षमताले धान्नै गाह्रो हुन्छ।'
पीसीआर किट छैन
भारतबाट धेरै मानिस भित्रने प्रदेशमा पर्छ सुदूर पश्चिम। त्यहाँ दैनिक २५ सयको हाराहारीमा भारतबाट नेपालीहरु भित्रिरहेका छन्। केही दिन यता विभिन्न जिल्लामा आउने क्रम बढेपछि क्वारेन्टाइनमात्र होइन परीक्षण गर्ने किटको अभाव हुन थालेको छ। बैतडीमा पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट नै छैन। किट सकिएपछि परीक्षण रोकिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए। अहिले जिल्लाभरि आरडीटी किट पनि जम्मा ४ सय ५० मात्रै छ। त्यसैका भरमा कोरोनासँगको युद्ध कसरी लड्ने उनी अलमलमा छन्।
किट नआउने हो भने बैतडीमा पनि संक्रमणको जोखिम बढने उनको भनाई छ।
'स्वाव संकलन गर्नका लागि भिटिएमको अभाव छ। माथिबाट नआएर परीक्षणको तथा नमुना संकलनको काम रोकिएको छ,' उनले भने, 'एक दुई दिनमा आउने भन्ने खबर छ। आएन भने त जोखिम बढने नै छ।'
बैतडीमा १४ सय १४ जना क्वारेन्टाइनमा छन्। २७ सय क्वारेन्टाइन बेड क्षमता रहेको बैतडीमा रातारात भारतबाट मानिसहरु आउँदा क्वारेन्टाइन भरिएको उनले बताए। बैतडीमा आइतवार बिहानसम्म ५ जना संक्रमित छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङका लागि समेत किटको अभाव छ।
लुकिछिपी आउनेले बढाए जोखिम
पूर्वको झापामा पनि कोरोना संक्रमण उच्च छ। भारतसँग सीमाना जोडिएको जिल्ला भएकाले दैनिक हजारौं मानिसहरु भारतबाट आइरहेका छन्। भारतबाट आउनेको संख्या बढेसँगै झापामा पनि क्वारेन्टाइनको अभाव हुन थालेको छ। एकै ठाँउमा धेरै मानिस आउँदा झन् अप्ठेरो पर्न थालेको स्थानीय प्रशासनको भनाई छ। झापामा ३३ क्वारेण्टान स्थलमा ७ सय १५ बेड छ। ३ सय ६ जना अहिले क्वारेन्टाइनमा छन्। भारतबाट आएर विभिन्न जिल्लामा जानेलाई होल्डिङ एरियामा राख्ने गरिएको छ। १२ वटा होल्डिङ एरियामा ८ सय २८ जना छन्। त्यही ठाउँ पनि संक्रमणित गराउने केन्द्रका रुपमा परिणत नहोला भन्न सकिन्न।
जिल्ला प्रशासन कार्यालका प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेल दैनिक भारतबाट आउनेको संख्या बढिरहेकाले क्वारेन्टाइनमा राख्नै मुस्किल भइरहेको बताए।
'अहिले सीमानबाट मात्रै होइन विभिन्न अवैध बाटोबाट पनि उत्तिकै मान्छे लुकीछिपी आइरहेका छन्। उनीहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले क्वारेन्टाइनको अब अभाव हुन्छ,' उनले भने।