PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

इरानलाई उछिन्दै कोरोना संक्रमितको १० औं मुलुकमा भारतको इन्ट्री



पहिलोपोस्ट

इरानलाई उछिन्दै कोरोना संक्रमितको १० औं मुलुकमा भारतको इन्ट्री

काठमाडौं : विश्वभर कोरोना संक्रमित मुलुकहरुको सूचीमा इरानलाई पछि पार्दै भारत १० औं स्थानमा उक्लिएको छ। धेरै मुलुकहरुमा कोरोना संक्रमितको संख्या स्थिर हुनेक्रममा पुग्दा भारतमा भने नयाँ रेकर्ड कायम हुँदै संख्या थपिइरहेको छ।

इरानमा आज बिहान सवा ६ बजेसम्मको तथ्याङ्कअनुसार १ लाख ३५ हजार ७ सय १ जना संक्रमित छन्। दशौं स्थानमा रहेको इरानलाई एघारौं स्थानमा झारेको भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ रहेको छ।

नवौं स्थानमा रहेको टर्कीभन्दा भारतमा १८ हजार ३ सय कम संक्रमित छन्। अहिलेकै रफ्तारमा भारतमा संक्रमित बढ्ने हो भने टर्कीलाई उछिन्न भारतलाई समय लाग्ने छैन।

विश्वभर अहिलेसम्म ५४ लाख ५ हजार २९ जना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा छन्।

अमेरिकामा १६ लाख ४२ हजार २१ जना संक्रमित छन्। दोस्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ६३ हजार २ सय ११ जना संक्रमित छन्। अमेरिकामा अहिलेसम्म ९७ हजार ६ सय ९८ जनाको मृत्यु भइसकेको छ कोरोनाका कारण। ब्राजिलमा यो संख्या २२ हजार ६ सय ६६ रहेको छ।

तेस्रो स्थानमा रहेको रसियामा ३ लाख ४४ हजार ४ सय ८१ संक्रमित छन्। पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र ब्राजिलको तुलनामा रसियाले कोरोनाको विश्वव्यापी कहरमा आफूलाई अब्बल राष्ट्र बनाउन सफल भएको छ। पहिलो र दोस्रो तथा चौथो, पाँचौं, छैटौं सूचीमा रहेका मुलुहरुमा कोरोनाका कारण जुन रफ्तारमा मानिसहरु मरेका छन्, रसियामा ठीक उल्टो छ। ३ लाख ४४ हजार जना संक्रमित हुँदा पनि यहाँ अहिलेसम्म ३ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ जुन अरु मुलुकको तुलनामा ज्यादै कम हो।

बेलायतमा संक्रमितको संख्या २ लाख ६० हजार ९ सय १६ पुगेको छ। बेलायतमा कोरोनाका कारण ३६ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ। त्यसैगरी स्पेनमा २ लाख ३५ हजार ७ सय ७२ जना संक्रमित देखिएका छन् भने मृत्यु हुनेको संख्या २८ हजार ७ सय ५२ पुगेको छ। इटालीमा संक्रमितको संख्या २ लाख २९ हजार ८ सय ५८ पुग्दा मृत्यु हुनेको संख्या ३२ हजार ७ सय ८५ रहेको छ। फ्रान्समा १ लाख ८२ हजार ७ सय ९ जना संक्रमित हुँदा २८ हजार ३ सय ७० जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell