
काठमाडौं : आइतवार नेपालमा थप १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिँदा एक जना काठमाडौंका पनि थिए। तर, यी संक्रमित भेटिँदा कोभिड १९ को नेपाली 'भर्सन' थप अल्मल्याउनेखालको बन्न पुग्यो।
काठमाडौं सोह्रखुट्टे बस्ने ७० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखियो। उनी विदेशबाट नेपाल फर्किएका हुन्, छोराछोरी भेटेर। अस्ट्रेलियाबाट दुबइ हुँदै नेपाल आएका हुन् उनी। उनी चैत ३ गते नेपाल आएका हुन् जतिखेर नेपालमा लकडाउन सुरु भएकै थिएन। कोरोना संक्रमितको सङ्ख्या पनि एक मात्र थियो नेपालमा जुन धेरैले थाहै पाएका थिएनन्।
चैत १० गते फ्रान्सबाट कतारको दोहा हँदै फर्किएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि भने अवस्था असामान्य बन्दै गयो। त्यसयता एकपछि अर्का गर्दै विदेशबाट आएका मानिसमा कोरोनाको संक्रमण देखिँदै गयो। सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गर्यो। चैत १ गतेदेखि विदेशबाट फर्किएका सबै नागरिकलाई सम्पर्कमा आउन सकरकारले निर्देशन गर्यो। संक्रमित भेटिएका विरामी आएको विमानका अन्य यात्रुको प्रहरीले ट्रेसिङ पनि थाल्यो।
तर ७० वर्षीय वुद्ध भने घरमा नै बसे। विदेशबाट आएका आफैं सेल्फ क्वारेन्टाइनमा बस्नु राम्रो उपाए थियो। उनलाई त्यतिखेर कोरोनाको खासै त्रास भए। तर, दुई महिनापछि भने उनको स्वास्थ्यमा समस्या देखियो। दुई महिनापछि थ्रोट स्वाब परीक्षण गराए। नभन्दै रिजल्ट पोजेटिभ आयो। उनी श्रीमतीसँग बस्दै आएका छन्। श्रीमतीलाई भने संक्रमण भएको पुष्टि भएको छैन।
'विदेशबाट आएको दुई महिनापछि संक्रमण देखिएको छ। त्यसैले कहाँबाट आयो भन्ने खुलेको छैन,' काठमाडौं महानगरपालिका वडा नम्वर १६ वडा अध्यक्ष मुकुन्द रिजालले भने।
संक्रमित उनको घर गोरखा र चितवनमा समेत रहेको छ।
उनी गोरखा वा चितवन गएका वा उनलाई आफन्त भेट्न आए र त्यहाँबाट संक्रमित भए? अनुमान मात्र गर्न सकिन्छ। अहिलेसम्म संक्रमितले दिएको भनाइ अनुसार विदेशबाट आएपछि उनको ट्राभल हिस्ट्री छैन।
'दुई जना बुढाबुढीमात्र बस्ने र खासै बाहिर ननिस्कएको बुझिएको छ। त्यो थप खुल्दै जाला,' वडा अध्यक्ष रिजालले भने। उनी बस्ने घरमा १३ जना बहालमा बस्दै आएका छन्। ती सबैको परीक्षण हुनेछ भने घर सिल गरिएको छ।
तर, पहिचान गर्न कठिन भएको छ - उनको शरीरमा यति लामो समयसम्म कोरोना रह्यो या नेपाल आएपछि नै संक्रमित भए?