काठमाडौं : नेपालमा मृत्युपछिमात्रै कोरोना पुष्टि हुनेक्रममा एक अर्को केस पनि थपिएको छ। यससहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।
वीरगंजको नेसनल मेडिकल कलेजमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको हो। उनमा कोरोना भाइरस रहेको अन्त्यष्टिपछिमात्रै पुष्टि भएको हो। उनको जेठ ४ गते नै मृत्यु भएको हो भने २ गते उनी अस्पताल भर्ना भएका थिए। आजमात्र उनमा कोरोना संक्रमण भएको खुलेको हो।
'मलाई भर्खर टेकुबाट इमेल आयो। उहाँलाई कोरोना पोजेटिभ देखिएको छ,' नारायणी अञ्चल अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले भने।
कोरोनाका कारण मृत्यु भएका चारमध्ये एक जनाको मात्र मृत्युपूर्व कोरोना पुष्टि भएको थियो। गुल्मीका शिक्षकको अन्तिम अवस्थामा पुग्दामात्र कोरोना संक्रमण भएको भेटिएका थिए।
कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको थियो। सुत्केरी महिलाको मृत्यपछिमात्र कोरोना संक्रमण पुष्टि भएको थियो। उनको नवजात शिशुमा भने कोरोना देखिएको छैन।
नेपालगंजमा क्वारेन्टाइनमा रहेका एक युवकको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। उनले प्रारम्भीक उपचारसमेत पाउन सकेका थिएनन्।