PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

टोखाका संक्रमित किराना पसलेः पाँच दिनअघिसम्म कारोबार थियो जारी



कमलराज भट्ट

टोखाका संक्रमित किराना पसलेः पाँच दिनअघिसम्म कारोबार थियो जारी

काठमाडौं : टोखा नगरपालिका वडा नम्बर ६ का सोमबार कोरोना संक्रमण पुष्टि भएका व्यक्ति किराना पसले भएको खुलेको छ। वडा नम्बर ६ का वडाध्यक्ष महेश्वर केसीले संक्रमित ग्रान्डी अस्पताल भन्दा केही माथि पुलिस चौकीभन्दा तल किराना पसल गरेर बस्दै आएको जानकारी दिए।

‘संक्रमितको पसल र निवास नजिकै नजिकै छ। आरडीटी टेस्टमा पोजेटिभ आएपछि अरु ९ जनालाई ७ नम्बर वडाको क्वारेन्टाइनमा राखिएको छ। उनी त्यहाँ जान मानेनन्। घरमै कोठामा क्वारेन्टाइनमा बसे। प्रहरीको पनि छेउछाउ भएर बाहिर निस्कन दिइएको थिएन,' उनले भने, 'पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आज पाटन अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।’

केसीले वडा नम्बर ३ धनेश्वरका संक्रमित ज्योतिष भएको प्रारम्भिक सोधपुछमा देखिएको बताए।

वडा नम्बर ६ का संक्रमितका घरबेटी राष्ट्रमान श्रेष्ठले उनको घर स्थायी घर पर्वत भएको र चितवन हुँदै ४ महिनाअघि काठमाडौं आएर पसल सुरु गरेको बताए। लकडाउनभन्दा पहिला सटर भाडामा लिएर पसल सुरु गरेको श्रेष्ठले बताए। ‘उहाँ कोठा लिएर सुरक्षित रुपमा बस्नुभएको छ,’ उनले भने।

उनका अनुसार पाँच दिनअघि नगरपालिका मातहत किराना व्यवसाय, तरकारी व्यवसाय र कोल्ड स्टोरहरु जो उपभोक्तासँग प्रत्यक्ष जोडिन्छन्, उनीहरुको आरडीटी टेस्ट गरिएको थियो। संक्रमितको अवस्था सामान्य रहेको कुनै लक्षण नरहेको उनले बताए। 

घरबेटी श्रेष्ठले संक्रमितको आरडीटीमा पोजेटिभ देखिएपछि पसल बन्द गर्न लगाइएको र ५ दिनदेखि पसल बन्द रहेको बताए। ५ दिन अगाडिसम्म पसल खुलै थियो। पीसीआर परीक्षणका लागि स्वास्थ्य केन्द्र टोखामा स्वाब संकलन गरिएको थियो।

घरबेटी श्रेष्ठले आफूले पनि आरडीटी र पीसीआर टेस्ट गरेको र नेगेटिभ आएको बताए।

वडा नम्बर ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले संक्रमित ज्योतिष भएको स्थानियले जानकारी दिएको बताए। अन्य कुरा सोधपुछ भइरहेको र अहिलेसम्म पत्ता लाग्न नसकेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell