PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

अनुसन्धान भन्छ : भारतले नेपाललाई दिएको मलेरियाको औषधि कोरोना भाइरस संक्रमितका लागि 'ज्यानमारा', प्रयोग नगर्नुस्



विधुर ढकाल

अनुसन्धान भन्छ : भारतले नेपाललाई दिएको मलेरियाको औषधि कोरोना भाइरस संक्रमितका लागि 'ज्यानमारा', प्रयोग नगर्नुस्

काठमाडौं : कोरोना भाइरस (सार्स सीओभी-२) को उपचारमा उपयोगी हुने भन्दै मलेरियाको ट्यावलेट संक्रमितहरुलाई कतिपय देशमा दिइँदै आएको छ। भारतदेखि अमेरिकासम्म यसको प्रयोग भइरहेको छ। नेपाललाई १० लाख ट्यावेलट यही ट्यावलेट सहयोग स्वरुप भारतले उपलब्ध गराएको छ।

तर, एक अध्ययनले यो ‍औषधि उपयोगीभन्दा प्राणघातक सावित भएको देखाएको छ।

दी ल्यान्सेन्ट जर्नलमा प्रकाशित हाइड्रोक्लोरोक्विन अथाव क्लोरोक्वनको कोभिड-१९ का संक्रमितहरुको उपचारमा भएको प्रयोगलाई विश्लेषण गरिएको उक्त अध्ययनले यस औषधिको सेवनले मृत्यदर बढाएको देखाएको छ। कुनै ठोस प्रमाणविना नै औषधीको प्रयोग कोभिड-१९ संक्रमितको उपचारमा प्रयोग गरिएको भन्दै कोभिड-१९ को संक्रमितमाथि गलत ढंगले मूल्यांकन गरी यसको प्रयोग गरिएको दाबी अध्ययनले गरेको छ।

प्रध्यापक मन्दीप आर मेहरा, सपना एस देसाइ, प्रध्यापक फ्रांक रुसचितजाका र अमित एन पटेलले तयार पारेको अनुसन्धानात्मक लेख मे २२ मा प्रकाशित भएको छ।

अनुसन्धानकर्ताहरुले कोभिड-१९ का संक्रमितहरुमा यसको प्रयोगका बारेमा ६ वटै महादेशका ६७१ अस्पतालका संक्रमितहरुको तथ्यांकको अनुसन्धान गरेका थिए। डिसेम्बर २०, २०१९ देखि अप्रिल १४, २०२० मा अस्पतालमा भर्ना भएका कोभिड-१९ का संक्रमण पुष्टि भएका संक्रमितहरुको तथ्यांक अध्ययन गरेका थिए।

अनुसन्धानकर्ताहरुले ९६ हजार ३२ संक्रमितहरु (औशत उमेर ५३.८ र ४६.३ प्रतिशत महिला)हरुको अध्ययन गरेका थिए।

जसमध्ये १४ हजार आठ सय ८८ जनामाथि संक्रमित अध्ययनको यो समूहमा परेका थिए जसलाई मलेरियाको औषधि दिइएको थियो। एक हजार ८ सय ६८ जनालाई क्लोरोक्विन, तीन हजार सात सय ८३ जनालाई मार्कोलिडसँगै क्लोरोक्विन, तीन हजार १६ जनालाई हाइड्रोक्लोरोक्विन र छ हजार दुई सय २१ जनालाई मार्कोलिडसँगै हाइड्रोक्लोरोक्विन दिइएको थियो।

अध्ययनमा सहभागीमध्ये ८१ हजार एक सय ४४ विरामी क्नट्रोल ग्रुपमा थिए भने १० हजार छ सय ९८ (११.१ प्रतिशत) संक्रमितको अस्पतालमा मृत्यु भएको थियो।

यो अध्ययनले औषधि प्रयोगले अस्पतालमा हुने मृत्युको जोखिम बढाएको लेखेको छ। अध्ययनकर्ताहरुले लेखेका छन्- 'हामीले हाइड्रोअक्सिक्लोरोक्विन अथवा क्लोरोक्विनको प्रयोग एकल अथवा मार्कोलिडसँग गर्दाको फाइदा पुष्टि गर्न सकेनौँ। यी औषधीका हरेक प्रकार अस्पतालमा सर्भाइभललाई घटाउन र कोभिड-१९ का संक्रमितको उपचारमा भेन्ट्रिकुलर एरिथमियासको मात्रा बढ्नुसँग जोडिएका छन्।'

हाइड्रोक्लोरोक्विन दशकौंदेखि मलेरिया र लुपसका उपचारमा प्रयोग हुँदै आएको औषधि हो र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले कोभिड–१९ को उपचारसम्बन्धी निर्देशिकामा यसलाई पनि समेटेको छ।

उमेर, लिंग र मुटु तथा फोक्सो सम्बन्धी रोगहरुको समीक्षा गरेपछि उक्त अध्ययनले औषधी नखुवाइएका नियन्त्रित समूहमा मृत्युदर ९.३ प्रतिशत रहेको पाइयो। हाइड्रोक्लोरोक्विनले उपचार गरिएकोमा त्यो मृत्युदर बढेर १८ प्रतिशत, एन्टिबायोटिकका साथ हाइड्रोक्लोरोक्विन खुवाइएकोमा २३.८ प्रतिशत, क्लोरोक्विन खुवाइएकोमा १६.४ प्रतिशत र एन्टिबायोटिकका साथ क्लोरोक्विन खुवाइएकोमा २२.२ प्रतिशत रहेको पाइयो। औषधिले उपचार गरिएकोहरुमा मुटुको नयाँ असामान्य चाल ४.३ देखि ८.१ प्रतिशत देखियो, जबकि औषधि नखुवाइएका नियन्त्रित समूहमा त्यो समस्या ०.३ प्रतिशत मात्रै रहेको पाइएको अध्ययनले जनाएको छ।

अनुसन्धानकर्ताहरुले हाइड्रोअक्सिक्लोरिक्विन वा क्लोरोक्विनको प्रयोग प्रचारमा आधारित रहेको जनाएका छन्। ठोस अनुसन्धानविना नै केही साना अध्ययनहरुको भरमा यसको प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ।

निष्कर्षमा अनुसन्धान रिपोर्टमा भनिएको छ, 'बहुदेशीय अवलोकन तथा अस्पताल भर्ना हुन आवश्यक कोभिड-१९ का संक्रमितहरुको उपचारमा हाइड्रोअक्सिक्लोरिक्विन वा क्लोरोक्विनको प्रयोग कुनै तथ्य तथा प्रमाणमा आधारित छैन। तर, यसले भेन्ट्रिकुलर एरिथमियासको जोखिम बढाउनुका साथै अस्पतालमा हुने मृत्युलाई बढाउन मद्धत पुग्छ। त्यसैले यो अध्ययनले यस्ता औषधीका कुनै पनि रिजिम्सहरुको प्रयोग क्लिनिकल ट्रायल भन्दा बाहिर नगर्न सुझाब दिन्छ। साथै रेन्डमाइज क्लिनिकल ट्राइलबाट शीघ्र यसलाई पुष्टि गर्न आवश्यक छ।

लान्सेन्टको यो नतिजालाई यसअघिको ब्राजिलको अध्ययनले पनि सपोर्ट गरेको छ। अध्ययनले यसको प्रयोगले कोभिड-१९ का संक्रमितलाई यी औषधि दिँदा हर्ट एरिथमियासको जोखिम बढ्ने देखाएको थियो।

यो अध्ययन केही समयमै रोकियो किनकि यसको ट्राइलका क्रममा ११ जना संक्रमितको मृत्यु भएको थियो।

सामाजिक सञ्जाल फेसवुकमा क्लोरोक्विनको प्रयोग ट्राइल गर्दा ११ संक्रमितको मृत्यु भएको समाचार पटक पटक भाइरल भएपछि फेसबुकले 'मिस इन्फर्मेसन' कम गर्नका लागि हटाउँदै आएको थियो। तर, रोयटर्सको फ्याक्ट चेकले यसलाई सही सावित गरेको छ।

ब्राजिलको अनुसन्धानमा सहभागी भएका ८१ जना संक्रमितमध्ये ११ जनाको मृत्यु भएको थियो। अध्ययनको पूर्ण पाठको पेज २८ को टेबल नम्बर ३ मा स्पष्ट रुपमा यसलाई उल्लेख गरिएको छ।

ट्राइलका क्रममा मृत्यु भएका संक्रमितमध्ये सात जना 'हाइ डोज' दिइएका र चार जना 'लो डोज' दिएका मध्ये थिए।

'प्रारम्भीक अनुसन्धानले के देखाएको छ। क्लोरोक्विनको हाइ डोज कोभिड-१९का संक्रमितको उपचारका लागि प्रयोग नगर्न सुझाब दिन्छ,' अध्ययनमा संलग्न अनुसन्धानकर्ताले रोयटर्ससँग भनेका छन्, 'हाइडोज दिइएका संक्रमितको उच्च मृत्युदरका कारण हामीले यसलाई रोक्ने निर्णय गरेका छौं,'

उनले आफूहरुसँग कोभिड-१९ को संक्रमित विरामीमा क्लोरोक्विनको प्रयोगका लागि कुनै तथ्य छैन।

अमेरिकी एक अनुसन्धानले पनि यस्तै खालको नतिजा दिएको थियो।

अमेरिकाको भेट्रान एड्मिनिस्ट्रेसन हस्पिटलहरुमा हाइड्रोकलोरोक्विनले उपचार गरिएका विरामीहरुमा उच्च मृत्यदर रहेको देखाएको थियो। त्यस अध्ययनले औषधिहरुको प्रयोग नगरिकनै विशेष हेरचाह गरिएका विरामीहरुको तुलनामा ती औषधि प्रयोग गरिएका विरामीहरुलाई खासै फाइदा नपुगेको फेला पारेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरिया विरुद्धको यो औषधीलाई 'चमत्कारिक उपचार'को संज्ञा दिँदै यसको प्रयोगलाई एकमात्र उपायको रुपमा अर्थ्याउँदै आएका थिए।

ट्रम्पको यस्तो अभिव्यक्तिको विरोध गर्ने चिकित्सकहरुलाई उनले 'ट्रम्प विरोधी'को संज्ञा दिन थालेका थिए। अमेरिकाकै सो सर्वेलाई पनि ट्रम्पले खराब सर्वेको रुपमा प्रस्तुत गरेका थिए।

गत अप्रिलको पहिलो साता ट्रम्पले भनेका थिए- 'हामीले गुमाउनुपर्ने के छ? यसलाई लिनुस्।' उनले त्यतिबेला हाइड्रोअक्सिक्लोरिक्विनको प्रयोगलाई जोड दिँदै औषधि खरिद गर्ने तथा उत्पादन गर्ने घोषणा गरे।

अमेरिकासँगै भारतमा पनि यसको प्रयोगलाई जोड दिइयो। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)ले आफ्नो नयाँ निर्देशिकामा हाइड्रोक्लोरोक्विनको प्रयोगलाई समावेश गर्दै प्रयोग खुला गर्‍यो। भारत हाइड्रोक्लोरिक्विन उत्पादक मध्येको ठूलो देश हो। उसले यसको निर्यातमासमेत रोक लगायो।

पछि नेपाललाई १० लाख ट्यावलेट दिँदा अमेरिकालाई ३५ लाख ८२ हजार ट्यावेलट सहयोग दिएको थियो।

 

कसरी चल्यो क्लोरोक्विनको प्रयोगबारे हल्ला?

गत अप्रिलको पहिलो साताको एक कन्फ्रेन्समा ट्रम्पले अन्तिम क्लिनिकल ट्राइल पर्खिरहेको र त्यो फ्रान्समा भइरहेको भन्दै असल नतिजा दिएको बताए। उनले नतिजा पर्खिने समय नभएको भन्दै प्रयोगमा जोड दिँदै आए।

ह्वाइट हाउसकै कोरोना विशेषज्ञसमेत रहेका डाक्टर एन्टोनी फाउसीले पटकपटक यसको विरोध गर्दै प्रयोगका लागि कुनै तथ्य तथा प्रमाणहरु नभएको बताउँदै आएका थिए।

हाइड्रोक्लोरिक्विनको बारेमा हल्ला बढी ह्वाइट हाउसबाट भयो। यसको प्रयोगबारे केही साना अध्ययनहरु फ्रान्समा हुँदै थिए। ट्रम्पले यही अध्ययनले धेरै राम्रो परीक्षणको रुपमा ब्याख्या गरे। यससँगै हल्ला सिलिकन भ्यालीमा प्रवेश गर्‍यो। सोसल मिडिया इन्फ्लुयन्सर हुँदै फक्स न्यूजमा पुग्यो र सबैभन्दा ठूलो बदमास बन्यो ह्वाइट हाउस।

त्यतिमात्र होइन यो हल्लालाई केही पुराना महामारी नियन्त्रणका घटनाले पनि बल दिए। प्राचिन रोममा महामारीले हजारौं मानिसलाई मारिरहेको थियो। शासक निरोका प्रमुख चिकित्सकले एउटा पुरानो चमत्कारिक उपचारको पर्चा वितरण गरे।

'यो निरोको विश्वसनीयता जोगाइराख्न चालिकएको कदम थियो,' हवार्ड मेडिकल स्कुल र ‍औषधीको इतिहासका अध्यता आरोन शाक्वले भने, 'महामारी शासकहरुका लागि खतरनाक हुन्छ।'फ्रान्सका केही वैज्ञानिकले एउटा अनुसन्धान प्रयोग गर्दै थिए। विश्व कोरोनाको उपचार खोजिरहेको थियो। क्लिनिकल ट्राइलका रिपोर्टहरु 'एकेडेमिक जर्नल'हरुमा जीउछन वा मृत हुन्छन्। तर, फ्रान्सको यो तथाकथित अनुसन्धान प्रकाशन हुनुपूर्व नै एक जना वकिल आफूले स्टान्फोर्ड विश्वविद्यालसँग सम्बन्धित रहेको भन्दै फक्स न्यूजको टस्कर कार्लसन टुनाइटमा आए।

उनले कार्यक्रममा कोरोना भाइरस विरुद्ध शतप्रतिशत उपचारको नतिजा सार्वजनिक गरे। त्यसको केही समयमा नै ह्वाइट हाउस मार्फत् 'गेमचेन्जर'को रुपमा घोषणा भयो। त्यस्तै चमत्कारिक उपचारको रुपमा चर्चा भयो। ट्रम्पले हाइड्रोअक्सिक्लोरोक्विनको बारेमा पहिलो पटक मार्च १९ मा भनेका थिए। यससँगै विश्वभर यसको चर्चा हुन थाल्यो।

तर, फ्रान्सको त्यो अनुसन्धानले पूर्ण नियम पालना गरेको थिएन। एउटै जनसंख्याबाट ट्रिटमेन्ट ग्रुप र कन्ट्रोल ग्रुप हुनुपर्नेमा फरकफरक जनसंख्याबाट लिइएको थियो।

यो अनुसन्धान अनलाइनमा प्रकाशित भएको दुई सातापछि अन्तर्राष्ट्रिय सोसाइटी अफ एन्टीमाइक्रोवियल किमोथेरापीले वक्तव्य प्रकाशित गर्दै सो समूहले प्रकाशित गरेको आर्टिकलले सोसाइटीको आवश्यक मापदण्ड पूरा नगरेको बताएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell