PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निजी गाडीलाई एम्बुलेन्स बनाउने पछिल्ला संक्रमित थिएनन् समूहमा, एक्लै जुटेका थिए सेवामा



पहिलोपोस्ट

निजी गाडीलाई एम्बुलेन्स बनाउने पछिल्ला संक्रमित थिएनन् समूहमा, एक्लै जुटेका थिए सेवामा

सोमवार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। लगत्तै सुभाष श्रेष्ठलाई लगातार फोन आउन थाल्यो। प्रश्न उहीं – तपाईंको समूहको कसमा भाइरस देखिएको?

कारण – संक्रमण पुष्टि भएका पुरुष समाजसेवी भएको बताइयो। बुढानीलकण्‍ठकै स्थानीय र लकडाउन सुरु भए यता आफ्नो कारलाई एम्बुलेन्स बनाएर सेवा दिँदै आएको भनिएपछि सुभाषलाई फोन नआउने कुरै भएन। किनकि सुभाष तिनै हुन् जसले लकडाउनको भोलिपल्टदेखि नै बिरामीहरुका लागि नि:शूल्क यातायात सेवा दिए, आफ्नो कारलाई एम्बुलेन्स बनाएर।

श्रेष्ठले सुरुवाती दिनमा ४ वटा निजी कार सञ्चालनमा ल्याएका थिए। लकडाउन थपिएसँगै उनीहरुलाई फोन आउने क्रम बढे पछि दुई वटा गाडी थपेका थिए। हाल ६ वटा गाडीमार्फत् सेवा उपलब्ध गराउँदै आएका छन्। विशेषगरी गर्भवती महिला, डायलासिस गराउनु पर्ने बिरामी, आपत्कालीन समस्या देखिएकाहरुलाई घरबाट अस्पताल र अस्पतालबाट घर पुर्‍याउँदै आएका छन्।

उनै सुभाष श्रेष्ठले आफ्नो समूहका कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको पुष्टि गरेका छन्। पहिलोपोस्टसँगको कुराकानीमा भने,'पाँच दिन अघि पिसिआर टेस्ट गराएका हौं। आज बिहान नतिजा देखियो। हाम्रो समूहको ६ नै जनामा संक्रमण देखिएन।'

उनले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका पुरुषले व्यक्तिगत् हिसाबले उनीहरुले जस्तै सेवा दिँदै आएका थिए।

'उहाँले पनि आफ्नो गाडी बिरामीका लागि सेवामा त ल्याउनु भएको थियो। तर उहाँ हाम्रो समूहको होइन,' उनले भने।

संक्रमित पुरुषसँगै सुभाष श्रेष्ठको समूह र विभिन्न काममा सक्रिय अन्य मानिसको बिहीवार एकसाथ स्वाब संकलन गरिएको थियो।

आफूहरुले सुरक्षा उपकरणको उचित प्रयोग गरेर मात्र काममा खटिएकाले संक्रमण नदेखिएको प्रष्ट्याए सुभाषले। भने, 'मास्क, स्यानिटाइजर मात्र होइन यो गर्मीमा पीपीईको समेत नियमित प्रयोग गरेका छौं। बिरामीको पनि ज्वरो लगायत अन्य लक्षण देखिएको अवस्थामा बोकेका छैनौं।'

उचित सावधानी अपनाएकाले यात्रुहरुलाई त्रसित् नहुन आग्रह गरे उनले।

सुभाषको समूहमा उनीसहित सुधीर रेग्मी, अशोक लामा, दिपेन्द्र खड्का, राज श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ छन्। उनीहरुले चैत १२ गतेदेखि हालसम्म ३७ सय बिरामीहरुलाई सेवा दिइसकेका छन्।

'लकडाउन बढ्दो छ। काठमाडौंमा एम्बुलेन्समा भर पर्न सकिने अवस्था छैन। यस्तोमा हामीले अझै सैयौं बिरामीलाई सेवा दिनु छ। त्यसैले पनि सर्तक र सावधान छौं,' समूहका सुधीर रेग्मीले भने। 

उनीहरुको परोपकारी कार्यलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्तादेखि सञ्चार माध्यमहरुमा विभिन्न सामाग्री प्रकाशित भए। त्यसपछि उनीहरुको व्यस्तता बढ्यो नै। साथै विभिन्न निकाय र संस्‍थाहरुले सुरक्षा सामाग्री उपलब्ध गराएको थियो। व्यवसायी वसन्त चौधरीले चार जनाको लागि नि:शूल्क पीपीई उपलब्ध गराएका थिए। हाल ७/८ जना मानिसले व्यक्तिगत तर्फबाट उनीहरुलाई पेट्रोल उपलब्ध गराउँदै आएका छन्।

सुधीरले भने, 'हामी सुरक्षित छौं। सावधान पनि। सेवा निरन्तर दिइरहन्छौं। हामीप्रतिको सद्भाव कायम राखिदिनुस्। र, आवश्यक परे फोन गर्नुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell