PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निमोनिया र दम देखिएपछि मात्रै संकलन गरिएको थियो स्वाब, मृत्यु भएपछि मात्रै गरियो तीनपटक परीक्षण



प्रकाश भण्डारी

निमोनिया र दम देखिएपछि मात्रै संकलन गरिएको थियो स्वाब, मृत्यु भएपछि मात्रै गरियो तीनपटक परीक्षण

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ। भाइरसको कहरबाट सबैभन्दा बढी तराईका जिल्लाहरु प्रभावित भएका छन्।

यसबीच जेठ ४ गते मृत्यु भएका प्रदेश २ को बारा निवासी एक वृद्धमा सोमबार कोरोना संक्रमण देखिएको पुष्टि भयो। नेश्नल मेडिकल कलेज वीरगंजमा उपचार गराइरहेका बारा कलैया उपमहानगरपालिकाका ७० वर्षका वृद्धमा कोभिड १९ पोजेटिभ रहेको पुष्टि भएको हो।

मृगौलाका बिरामी रहेको वृद्धमा उपचारका क्रममा निमोनिया र दमको समस्या देखिएपछि जेठ २ गते स्वाव संकलन गरी नारायणी अञ्चल अस्पतालमा पठाइएको थियो। तर मृत्यु भएपछि मात्रै ती वृद्धको नमूना परीक्षण गरिएको खुलेको छ। जेठ २ गते उनको स्वाव संकलन गरिएको भएपनि परीक्षणका लागि पालो कुर्नु पर्दा ५ गते मात्रै ल्याबमा उनको नमुना परीक्षण भएको नारायणी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेट मदन कुमार उपाध्यायले जानकारी दिए।

'२ गते नै स्वाब आएको थियो। हाम्रोमा पालो आएको थिएन। तर ४ गते मृत्यु भएपछि हामीले एक्कासी उहाँको परीक्षण गरेका थियौं।'

५ गते परीक्षण गरिएको रिपोर्ट पोजेटिभ आयो। तर स्वाबको पुन: परीक्षण गर्न आवश्यक ठानेर अस्पतालले नमूना काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो।

जेठ ७ गते मृतक व्यक्तिको स्वाब टेकुको प्रयोगशालामा पुग्यो। तर त्यहाँ पनि नमुना परीक्षण हुन समय लाग्यो। टेकुमा ७ गते नै पठाइएको भएपनि दोश्रो पटकको नतिजा भने ११ गते बिहान मात्रै आएको उनले बताए।

उपाध्यायले भने 'एकपटक त  हामीले परीक्षण गरेका थियौं। नमुना पोजेटिभ थियो अनि भेरीफिकेशनका लागि हामीले टेकु पठायौं। टेकुमा पनि दुईपटक परीक्षण गर्नुपरेको थियो।'

वृद्धको मृत्युपछि तीनपटकसम्म परीक्षण गरेपछि मात्रै उनमा कोरोना भाइरसको संक्रमण रहेको खुलेको हो।

नमुना संकलन गरेर परीक्षण गर्दा पोजेटिभ नै भन्न कठिन भएकाले पटक पटक नमुना परीक्षण गर्नुपरेको उपाध्यायको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell