
काठमाडौं : बाराको महागढीमाई नगरपालिकामा एकै दिन २१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमवार पुष्टि गरेका संक्रमितहरु भारतबाट एक साताअघि आएका व्यक्तिहरु भएको नगरपालिकाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
'भारतको दिल्ली, मुम्बई, हरियाणा, पटना र पञ्जाबबाट एक साताभित्र नगरपालिकामा ५२ जना प्रवेश गर्नुभएको छ। आज पुष्टि भएका संक्रमितहरु तिनीहरु मध्येकै हुनुहुन्छ,’ उनले भने।
संक्रमितहरु नगरपालिकाको वडा नम्बर ६ को क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन्। उक्त क्वारेन्टाइनमा रहेका ३० जनाको परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ देखिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६,३०,३१,३६,३६,४०,५० वर्षका पुरुष रहेका छन्।
यादव भन्छन्, 'वडा नम्बर ६ को क्वारेन्टाइनमा ३८ जना छन्। जसमध्ये ५ दिनअघि ३० जनाको मात्रै परीक्षण गरिएको थियो। बाँकी ८ जनाको लागि किटको अभाव भयो उनीहरुको अझै परीक्षण हुन सकेको छैन।'
५२ मध्येका अन्य १४ जना नगरपालिकाको १ र २ वडाको क्वारेन्टाइनमा छन्। उनीहरुको पनि परीक्षण हुन बाँकी रहेको यादवले जानकारी दिए।
'हामीले उहाँहरुलाई सिधै क्वारेन्टाइनमा राखेका छौं। उहाँहरु नगरपालिकाको अन्यत्र जान पाउनुभएन। २२ जनाको परीक्षण गर्न बाँकी छ,’अध्यक्ष यादवले भने।
उनले परीक्षणका लागि सिडिओसँग कुरा गर्दा किट र जनशक्तिको अभाव रहेको जवाफ पाएको बताए। उनी भन्छन्, 'पहाडका कतिपय स्थानमा आवश्यक नै नरहेको ठाउँमा परीक्षण भइरहेको छ। संक्रमितको सम्भावना रहेको क्षेत्रमा किटको अभाव छ। व्यवस्थापन प्रभावकारी भएन्।'
संक्रमितहरुलाई कलैयाको आइसोलेसनमा पठाउने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए। 'सिडिओसँग कुरा भएको छ। कलैया लैजाने व्यवस्था मिलाइरहेको जानकारी गराउनु भएको छ,’ उनले सुनाए।