PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

रौतहटमा सोमवार संक्रमण देखिएका सबै भारतबाट आएका, आइसोलेसन वार्ड नहुँदा समस्या



राधेश्याम पटेल

रौतहटमा सोमवार संक्रमण देखिएका सबै भारतबाट आएका, आइसोलेसन वार्ड नहुँदा समस्या

वीरगंज : प्रदेश नम्बर २ को रौतहटमा सोमवार थपिएका २६ जना संक्रमित पुरुषहरु भारतको विभिन्न राज्यबाट केही दिनअघि रौतहट आएको खुलेको छ। रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार उनीहरु १० दिनअघि भारतको मुम्बई, दिल्ली, पटना, लखनउ, ईलाहाबाद, नोयडा, गुजरातलगायत शहरबाट रेलको यात्रा गरी रौतहट आएका हुन्।

भारतबाट आउनेहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ। २६ जनामध्ये राजपुर फरहदवा नगरपालिकाको विभिन्न वडाका २४ जना र ईशनाथ नगरपालिकाका २ जना छन्। संक्रमित सबैलाई आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको उनले जानकारी गराए। रौतहटमा सोमवार भेटिएका संक्रमितहरु १८ देखि ५३ वर्षसम्मका पुरुषहरु हुन्।

रौतहटको राजपुर फरहदवा नगरपालिकाका ९६ जनाको स्वाब पठाइएकोमा २४ जनामा कोरोना पुष्टि भएको हो भने ईशनाथ नपाको २७ जनाको स्वाब पठाइएकोमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले जनाए।

यसअघि रौतहटमा २१ जना संक्रमित भेटिएकोमा ३ जना निको भएर घर फर्किसकेका छन् भने १८ जना गौरस्थित गौर नर्सिङ इन्स्टिच्युटमा उपचाररत छन्। रौतहटमा कुल संक्रमितको संख्यामा ४७ पुगेको छ।

आइसोलेसन वार्डको अभाव, खोजी हुँदै

रौतहटमा पछिल्लो पटक कोरोना संक्रमित बढ्न थालेपछि आइसोलेसन वार्डको अभाव भएको छ। आइसोलेसन वार्ड अभाव भएपछि थप अस्पताल तथा क्वारेन्टाइनलाई नै आइसोलेसन वार्ड बनाउने विषयमा पहल भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।

रौतहटमा अहिले १८ वटा पालिकाको ४९ वटा क्वारेन्टाइनमा आइतवारसम्म भारतबाट आएका २ हजार ६ सय बढीलाई क्वारेन्टाइनमा राखिएको छ। यसरी भारतबाट आउनेहरुमा करिब २० प्रतिशतमा संक्रमण पुष्टि हुन थालेपछि कम्तिमा १ हजार बेडको आइसोलेसन वार्डको आवश्यकता रहेको उनले जानकारी गराए।

गौर अस्पतालकै चिकित्सकको सहकार्यमा रौतहटका कुन अस्पताल, कलेज वा विद्यालयलाई आइसोलेसन बनाउने भन्ने विषयमा छलफल गरी सोमवार भेटिएकालाई रौतहटमै व्यवस्थापन गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell