PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अछामका संक्रमित : १२ जनाको समूहमा दिल्लीबाट आएका थिए, आरडीटी पोजेटिभ देखिँदा कैलालीमै रोकिए



कमलराज भट्ट

अछामका संक्रमित : १२ जनाको समूहमा दिल्लीबाट आएका थिए, आरडीटी पोजेटिभ देखिँदा कैलालीमै रोकिए
मेल्लेखमा आरडीटी परीक्षण गरिँदै। तस्विर : गाउँपालिका कार्यालय

काठमाडौं: सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पीसीआर परीक्षणका क्रममा मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले संक्रमित नयाँ दिल्लीबाट आएको बताए। उनका अनुसार रोजगारीको सिलसिलामा नयाँ दिल्लीमा रहेका संक्रमित जेठ ८ गते १२ जनाको समूहमा गौरिफन्टा आएका थिए। एक जना कैलालीको वनभेडास्थित माया भन्ने ठाउँ गए भने १० जना मेल्लेख गाउँपालिका आए।

संक्रमित पुरुष भने धनगढीमै रहेको गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए। ‘गौरीफन्टाबाट आउँदा सीमामा आरडीटीमा पोजेटिभ देखिएपछि उहाँलाई धनगढीमै रोकियो। पीसीआर गर्दा पोजेटिभ आयो,’ उनले भने।

संक्रमितको टोलीसँग नेपाल प्रवेश गरेका १० जना आफ्नो गाउँपालिकामा आएको र उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको बोहराले बताए। ‘यी १० जना धनगढीबाट ३५/४० जनासँगै बसमा आउनुभयो। उहाँहरु सबै दुइटा क्वारेन्टाइनमा बस्नुभएको छ। उहाँमध्ये २० जनाको स्वाब संलकन गरेका छौं,’ उनले भने।

अन्यमा कुनै लक्षण नदेखिएको र आएको पनि चार/पाँच दिनमात्रै भएकाले दुई/तीन दिनपछि परीक्षण गरिने गाउँपालिका अध्यक्ष बोहराले बताए। उनका अनुसार क्वारेन्टाइनमा एउटामा ३५ र अर्कोमा १७ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell