
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको दुई प्रतिशतसम्मको कोरोना परीक्षण गरिने बताएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
'विज्ञहरुले दिएको सल्लाह बमोजिम कम्तिमा जनसंख्याको दुई प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार छ, उनले भने।
त्यस्तै प्रधानमन्त्री ओलीले क्वारेन्टाइनको संख्या बढाउने र स्तर सुधार गर्ने बताए।
उनले आवश्यकता अनुसार बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरुलाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गर्नेबारेमा समेत योजना बनाइएको जानकारी दिए।
ओलीले राष्ट्रिय सङ्कटको यस घडीमा खेलेको भूमिकालाई नै सम्बन्धित व्यक्तिको मूल्याङ्कनको मुख्य आधार बनाउँदै दण्ड र पुरस्कारको व्यवस्था गरिने समेत बताए।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा अघि बढाई सूचीकृत श्रमिकलाई उपलब्ध रोजगारीमा परिचालन गरिने र स्थानीय तहहरुले स्वदेश फर्किएर बेरोजगार रहेका र स्वदेशमै रोजगारीको अवसर नपाएकाहरुलाई रोजगार सेवा केन्द्रमा दर्ता हुन सहजीकरण गर्ने समेत उनले बताए।