
काठमाडौं : जनता समाजवादी पार्टीका नेता तथा रौतहट १ का सांसद अनिल झाले कोरोना संक्रमण नियन्त्रणमा राज्यको उपस्थिति हुन नसकेको आरोप लगाएका छन्। रौतहटमा सोमवार मात्रै २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँसै संक्रमितको संख्या ४९ पुगेको छ।
कोरोना परीक्षणको दायरा बढाउन नसकिएको बताउँदै उनी भन्छन्, ‘कोरोना परीक्षण गर्न जिल्लामा पीसीआर मेसिन समेत छैन। राज्य छ र? के गर्दैछ?’
झाले नगरपालिका तथा गाउँपालिकाहरुले उपलब्ध स्रोत साधन उपयोग गरेर काम गरिरहेको भन्दै स्थानीय तहलाई दोष दिने ठाउँ पनि नभएको दावी गरे। उनले कोरोना संक्रमण नियन्त्रणमा सांसदलाई सरकारले भूमिका दिन नसकेको समेत गुनासो गरे।
झाले भने, ‘सांसदले के गर्ने? आफ्नो तर्फबाट सक्ने त गरिरहेकै छौँ। सम्बन्धित जिल्लाका सांसदहरुलाई जिम्मेवारी दिनुपर्थ्यो। सांसदको हैसियत के छ र? सांसद त विचरा हुन्। व्यवस्थापन फितलो भयो भनेर स्थानीय तहका प्रतिनिधिलाई कसरी भन्ने हामीले?’
स्थानीय तहका जनप्रतिनिधिलाई दोष दिने ठाउँ नरहेको उनको भनाइ छ।
‘कोरोना संक्रमण विश्वव्यापी युद्ध हो। सबैले आ-आफ्नै ठाउँबाट लडिरहेका छन्। तर, हामी कहाँ राज्य भएको अनुभुति गराउन सकेको छैन। स्थानीय तह, प्रदेशलाई आफूसँग भएको बजेटबाट खर्च गर्न भनिएको छ। उनीहरुलाई दोष दिने ठाउँ छैन,’ उनी भन्छन्।
जिल्लामा क्वारेन्टाइन र आइसोलेसनको अवस्था दयनीय रहेको बताए।
‘स्कुलको कक्षामा क्वारेन्टाइन बनाइएको छ। ट्वाइलेटको अवस्था पनि नाजुक छ,’ सांसद झाले भने।
सीमामा अलपत्र मानिसहरुको समस्या समाधान हुन नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘सरकारले रोजगारी दिन नसकेकाले नै उनीहरु खर्च टार्न विदेशिएका हुन्, मानिसहरु बोर्डरमा अलपत्र छन्। खाडी मुलुकमा नेपालीहरुको मृत्यु पनि भइरहेको छ। यस्तो अवस्थामा स्वदेश ल्याइएको छैन। आउन चाहनेहरुलाई ल्याउनुपर्छ।’