PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोनाका कारण ठप्प खेल क्षेत्र : विदेशमा खेलाडीलाई अभ्यासमा फर्कने अवसर, नेपालमा कस्तो छ तयारी ?



मुकुन्द घिमिरे

कोरोनाका कारण ठप्प खेल क्षेत्र : विदेशमा खेलाडीलाई अभ्यासमा फर्कने अवसर, नेपालमा कस्तो छ तयारी ?

कोरोना भाइरसको महामारी चलेसँगै विश्वभरका खेल गतिविधिहरु ठप्प भए। तर संक्रमण अत्याधिक फैलिएको २ महिना पछि सुरक्षित मापदण्ड बनाउँदै केही खेलहरु संचालन हुन थालेका छन्।

कोभिड १९ कै कारण रोकिएको कोरियन फुटबल लिग सुरु भयो। जर्मन बुन्डेसलिगा मैदानमा फर्कियो। ला लिगा, सिरि ए पनि चाँडै सुरु गर्ने तयारी भइरहेको छ।

त्यस्तै क्रिकेटका लागि पनि आइसिसीले मैदान फर्कन गाइडलाइन्स तयार गरेको छ। अन्य खेलहरुमा पनि कडा नियमहरु बीच खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रयास भइरहेको छ।

कोरोनाले ओलम्पिकलाई एकवर्ष पछि सार्न बाध्य गर्‍यो। विस्तारै अवस्था सामान्य बन्दै गएको पछि जापानले ओलम्पिकको लागि फेरि तयारी सुरु गरेको छ। ओलम्पिकमा प्रतिस्पर्धा गर्नका लागि अभ्यास गर्ने समय अहिले नै हो। तर कोरोनाको बढ्दो संक्रमण र लकडाउनका कारण खेलाडीहरु अहिले घरमै भित्रै थुनिएका छन्। केही देशहरुले भने खेलाडीलाई अभ्यासका लागि अनुमति दिन सुरु गरेको छ।

दुई महिनाको लकडाउन पछि भारतीय एथलेटिक्स खेलाडीहरु सोमबारबाट प्रशिक्षणका लागि मैदान फर्किएका छन्। लामो समयपछि खेलाडीहरुले ट्र्याक एन्ड फिल्डमा अभ्यास गर्नेछन्। खेलाडीहरुको फिटनेस र लयलाई कायम राख्न मैदानमा अभ्यास गर्न अनुमति दिइएको एथलेटिक्स फेडेरेसन अफ इन्डियाका अध्यक्ष आदिल सुमरीवालाले बताए।

१७ मे बाट चौथो चरणको लकडाउन सुरु भएसँगै भारत सरकारले खेलपरिसर तथा स्टेडियममा अभ्यास गर्न अनुमति दिएको थियो। तर खेलाडीहरुले भौतिक दुरी कायम गर्ने सहितका कडा नियमहरु सहित।   

नेपालमा कहिले सुरु होला खेल गतिविधि?

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले नेपालमा 'इन्डिभिज्वल' खेलहरुका लागि अभ्यास सुरु गराउने तयारीमा रहेको बताइसकेका छन्।

‘इन्डिभिज्वल खेलहरुका पहल पनि सुरु गरिसकेको छौं। यद्यपि मुर्त रुप लिन सकिरहेको छैन। कम्तिमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुबाट शुरु गर्ने सके खेलकुद चलयमान हुन्छ,’ एन्फाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘जिल्लामा पनि जहाँ कोरोनाबाट समस्या छैन या ग्रीन जोन छ त्यहाँबाट अघि बढ्न सके खेल चलयमान हुन्छ भन्ने हो।’

खेलाडीलाई मैदान फर्काउने तयारी चलिरहँदा कोरोनाको प्रकोप बढेपछि समस्या आएको सिलवालको विश्लेषण छ। त्यस्तै बन्द रंगशालामा फुटबलका बाँकी रहेका लिगहरु संचालनबारे पनि राखेपले सोचिरहेको सिलवालले बताएका थिए।

यता खेलाडीको चिन्ता पनि उही छ। लामो समययता खाली बसेसँगै फिटनेसको चिन्ता त खेलाडीलाई छदैछ लय बिग्रेला कि भन्ने चिन्ता पनि त्यतिकै छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ यसरी लामो समय खेलाडी अभ्यासबिना बसेपछि फर्म बिग्रने बताउँछन्। त्यसका लागि खेलकुद परिषदसँग सामान्य संवाद भएको बताउँछन्।

‘हामीसँग पनि एकचरण चाहीँ कुरा भएको हो। म र दीपक विष्टलाई बोलाएर कुरा गर्नुभएको थियो,’ श्रेष्ठले भने, ‘अब अलिअलि गर्दै काम अघि बढाउनु पर्ला। इन्डिभिज्वल गेमबाट विस्तारै ट्रेनिङ सुरु गराउनु पर्ला भन्ने कुरा गर्नु भएको थियो।’

त्यसयता खेल क्षेत्रलाई पुन: लय फर्काउने बारेमा सामान्य बहसहरु भइरहे पनि खेल शुरु भइहाल्ने गरिको तयारी भने राखेपको देखिँदैन। श्रेष्ठ अभ्यासमा जोड नगराए फिटनेस लगायतका समस्या आउने बताउँछन्।

‘धेरै दिन ट्रेनिङ नहुने बित्तिकै खेलाडीले दिन सक्ने पर्समेन्स हुन्छमा प्रभाव पारिहाल्छ,’ श्रेष्ठ भन्छन्, ‘माथि चढ्नलाई फेरि त्यति नै समय लाग्छ।’

खेलाडीहरु घरमै बसेका कारण तौल समूहको खेलाडीहरु धेरै समस्यामा पर्ने उनी बताउँछन्। त्यही भएर फिटनेस कायम गर्न पनि ट्रेनिङ गर्नुपर्ने उनको मत छ।

घरमै ट्रेनिङ गर्ने वातावरण सबै खेलाडीको नहुन सक्छ। अर्कातिर कोभिड १९ को संक्रमण घट्ने भन्दा पनि बढ्ने क्रममा देखिन्छ। यसबाट लामो समय घरमै बस्नुपरेपछि खेलाडीको करियरमै समस्या आउन सक्ने देखिन्छ।

कोरोनाबीच विदेशमा सरकारहरुले खेलकुदलाई प्राथमिकता दिएको छ, प्याकेज ल्याएको छ। या भनौं कतै खेलकुदको लागि अभ्यास गर्ने मापदण्ड बनाएर बिस्तारै खेल गतिविधि सुरु गर्दैछ। कतै खेल पुन संचालनमा ल्याउन कार्यविधि बनाइरहेका छन्।

नेपालको सन्दर्भमा भने राखेपले इन्डिभिज्वल खेलका लागि तालिमको बाटो खोल्न खोजिरहेको बताए पनि सरकारले खेल या खेल अभ्यासका लागि अनुमति दिने या नदिने भन्ने स्पस्ट देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell